बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न

लोकप्रिय

काठमाडौँ, जेठ ३ गते । भक्तपुरमा बागमती प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’सम्पन्न भएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्यमा आज भक्तपुरमा सम्पन्न सम्मेलनमा युवा उद्यमीले उद्योगको विकास र रोजगारीको अवसर सृजना गर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन् । सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले नवप्रवर्तन उद्यमी विकासमा प्रदेश सरकारले उद्योगीसँग सहकार्य गर्नेगरी अगाडि बढ्ने योजना बनाइरहेको बताउनुभयो । उहाँले युवा उद्यमीको विकासका लागि प्रदेश सरकारले आवश्यक सहकार्य गर्न तयार रहेको बताउँदै युवापुस्तालाई वैदेशिक रोजगारीमा जानबाट रोक्नका लागि स्वदेशमै रोजगारी अवसर बनाउने र स्वरोजगारको वातावरण बनाउन उद्यमी लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसाल, नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ भक्तपुरका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिलगायत वक्ताले नयाँ उद्यमीको विकासका लागि तीन तहका सरकारले सहकार्यका नीति ल्याउँदै दिगो उद्योग व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।

सम्मेलनमा बागमती प्रदेशभित्रका ५०० भन्दाबढी युवा उद्यमी तथा व्यवसायीको सहभागिता रहेको बताउँदै युवा उद्यमीको विकास र नयाँ उद्यमीको प्रवर्द्धनको अभियान सम्मेलनले सुरु गरेको युवा उद्यमी उपसमितिका संयोजक एवं सम्मेलनका संयोजक कृतन अवालले बताउनुभयो । एक व्यवसायीले सुरु गरेको व्यवसायलाई अरूले पनि नक्कल गरेर एउटै व्यवसाय धेरैले सञ्चालन गर्ने प्रवृत्तिको अन्त्य गरी बजार आवश्यकताको पहिचान गरेर फरक फरक व्यवसाय एवं उद्योग सञ्चालनमा लाग्नुपर्ने सम्मेलनको निष्कर्ष रहेको उहाँले बताउनुभयो । सम्मेलनले स्टार्टअप तथा नवप्रवर्तन संस्कृतिका विकास, युवा उद्यमशीलतालाई प्रवर्द्धन, लगानी तथा बजार पहुँच विस्तार, नीति समन्वय एवं नवप्रवर्तन मैत्री वातावरण निर्माण गर्नेलगायत विषयमा छलफल भएको भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णमुरारी न्यौपानेले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles