काठमाडौँ, जेठ ३ गते । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट खर्च र राजस्व सङ्कलन दुवै कमजोर देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा कुल बजेटको करिब ३४ प्रतिशत मात्र खर्च गरेको हो । कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बजेटमध्ये हालसम्म २२ अर्ब ९८ करोड २५ लाख अर्थात् ३४.०६ मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको वित्तीय विवरण अनुसार सरकारले अझै ४४ अर्ब ४९ करोडभन्दा बढी रकम खर्च गर्न बाँकी छ ।

प्रदेश सरकारले विकास निर्माणतर्फ छुट्याइएको बजेटमध्ये ठूलो हिस्सा अझै खर्च हुन बाँकी छ । विकास (पुँजीगत) खर्चतर्फ विनियोजित गरेको ४१ अर्ब ५४ करोड बजेटमध्ये हालसम्म २८.५९ प्रतिशत अर्थात् ११ अर्ब ८७ करोड मात्रै खर्च भएको छ भने बाँकी दुई महिनामा २९ अर्ब ६६ करोड विकास बजेट खर्च गर्न बाँकी हुँदा अन्तिम दुई महिनामा ‘असारे विकास’ बढ्ने चिन्ता समेत बढेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्रालयगत रूपमा सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ३३.९१ प्रतिशत खर्च गरेको छ भने सबैभन्दा कमजोर कार्यसम्पादन रहेको युवा तथा खेलकुद मन्त्रालयको खर्च १४.१८ प्रतिशत मात्रै रहेको छ ।

त्यस्तै बागमती प्रदेश सरकारले राजस्व सङ्कलनतर्फ पनि लक्ष्यको ४६.४४ प्रतिशत अर्थात् ३१ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ मात्रै सङ्कलन गर्न सकेको छ । मूल्य अभिवृद्धि करतर्फ ७३.७१ प्रतिशत र सवारी साधन करतर्फ ६६.५९ प्रतिशत राजस्व उठेको छ । कुल राजस्व लक्ष्य कमजोर रहे पनि प्रदेशको आन्तरिक आयतर्फ भने केही सुधार हुँदै लक्ष्यको ६७.३९ प्रतिशत अर्थात् ३ अर्ब २४ करोड सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।




