काठमाडौँ, जेठ ७ गते । आव २०८१/८२ र आव २०८२/८३ दुवैमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने अनुमान छ । आव २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलरमा बागमती प्रदेशको २६४४, गण्डकी प्रदेशको १६५१, कोशी प्रदेशको १४१०, लुम्बिनी प्रदेशको १२०८, सुदूरपश्चिम प्रदेशको ११७०, कर्णाली प्रदेशको ११०८ र मधेश प्रदेशको ९३४ हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आवमा राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलरमा १५१३ हुने प्रारम्भिक अनुमान छ । यस हिसाबले बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन पनि राष्ट्रिय औसतभन्दा कम रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

देशको समग्र कुल गार्हस्थ उत्पादनको अनुमानभन्दा दुई प्रदेशको आर्थिक वृद्धिदर बढी रहने देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रदेशगत कुल गार्हस्थ उत्पादनमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय अनुमान (३.८५ प्रतिशत) भन्दा बढी हुने देखिएको छ ।

स्थिर मूल्यमा मापन गरिएको उपभोक्ताको मूल्यको प्रादेशिक कुल गार्हस्थ उत्पादनको सबैभन्दा उच्च वार्षिक वृद्धिदर बागमती प्रदेशको ५.४० प्रतिशत र गण्डकी प्रदेशको ५.०१ प्रतिशत रहने अनुमान छ । त्यसै गरी सबैभन्दा न्यून वार्षिक वृद्धिदर मधेश प्रदेश १.३१ प्रतिशत प्रारम्भिक अनुमान छ । स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा बागमती र गण्डकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदरभन्दा बढी र बाँकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदरभन्दा कम हुने प्रारम्भिक अनुमान छ । जस अनुसार सुदूरपश्चिम प्रदेशको ३.२८ प्रतिशत, कोशी प्रदेशको ३.१३ प्रतिशत, कर्णाली प्रदेशको २.९४ प्रतिशत र लुम्बिनी प्रदेशको २.८७ प्रतिशत आर्थिक वृद्धिदर रहेको छ ।




