कैलाशमा अभिभावक शिक्षा कार्यक्रम सुरु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ७ गते । मकवानपुरको कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सुरु गरेको छ । कैलाश २ मा अवस्थित कमलादेवी माविमा वडा २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक राजेन्द्र घिसिङको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तीन दिने कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानले गाउँपालिकाले अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमलाई नीति तथा कार्यक्रममा राखेर यसवर्षदेखि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । बालबालिकाको निगरानी अभिभावकको दायित्व हो, शिक्षा नीति अनुरुप अभिभावकलाई शिक्षा दिनु आवश्यक छ, मुक्तानले भन्नुभयो । उहाँले बालबालिकाको सोच परिवर्तन गरी शिक्षा प्रदान गरिनुका साथै अभिभावकको सुझाव अनुसार स्थानीय सरकारले आवश्यक नीति निर्माण गरिने भन्दै सामाजिक सञ्जालले विद्यार्थीहरु मात्र नभई अभिभावकमा पनि ठुलो असर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, सामाजिक सञ्जालमा सकरात्मकभन्दा नकरात्मक विषयवस्तु बढी पाइने भएकाले पठनपाठनमा समेत असर पुगेको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले विद्यार्थीलाई शिक्षित बनाउन अभिभावकको ठुलो भूमिका रहने भन्दै प्रविधिसँग जोडिनु राम्रो हो तर अहिले मोवाईल प्रयोगले पठनपाठनमा समस्या उत्पन्न भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, विद्यालयमा मात्र होइन बालबालिकाले घरमा पनि कसरी पठनपाठनमा सहयोग पुर्याउने हो त्यसतर्फ ध्यान दिनुपर्छ ।

वडाध्यक्ष राजेन्द्र घिसिङले बालबालिकाको पढाईमा शिक्षक र अभिभावक दुबैको दायित्व रहने भन्दै अभिभावकले घरमा संस्कार सिकाउनुपर्ने र शिक्षकले विद्यालयमा शिक्षा दिनुपर्ने हुन्छ, यी दुवै भएपछि मात्रै असल र सफल विद्यार्थी बन्ने बताउनुभयो ।
कार्यक्रममा मुख्य प्रशिक्षक अभिषेक घिमिरेले अभिभावक शिक्षा र सचेतना सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बिहीबार कमलादेवी मावि र वडा ६ मा रहेको व्यास माविको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख समीर जोशीले जानकारी दिनुभयो । कार्यक्रममा बालबालिकासम्बन्धी जनचेतनामूलक गतिविधि, अभिभावक शिक्षा, सामाजिक सचेतना तथा सरोकारवालाबीच अन्तरक्रियाले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने जनाइएको छ ।
विद्यार्थीको व्यवहार सुधार, सिकाइ क्षमता वृद्धि, घर—विद्यालय सम्न्वय सुदृढीकरण तथा समूदायमा सकरात्मक परिवर्तन ल्याउनुनै कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

ताजा समाचार

Related Articles