घुससहित प्रमुख प्रशासकीय अधिकृत यादव नियन्त्रणमा

लोकप्रिय

महोत्तरी, जेठ ९ गते । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित नियन्त्रणमा पर्नुभएको छ । सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासबाट खटिएको टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार टोलीले यादवलाई सेवाग्राहीबाट ७२ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । साथै उहाँको साथबाट स्रोत नखुलेको ८३ हजार १४५ रुपियाँ, ल्यापटप १ थान, मोबाइल २ थान तथा अन्य सरकारी कागजातसमेत बरामद गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

नियन्त्रणका क्रममा यादव सवार सरकारी नम्बर प्लेटको सवारी साधनसमेत जिल्ला महोत्तरीको गौशाला नगरपालिका–५ निगौलस्थित सम्सी–गौशाला सडक खण्डको गौशालातर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको हो । अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

Related Articles