बागमती नदीमा बेपत्ता दुई युवक मृत फेला

लोकप्रिय

सर्लाही, जेठ १० गते । सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता दुई युवक आइतबार दिउँसो मृत फेला परेका छन् । बागमती नदीले बगाएर सर्लाहीको लालबन्दी नगरपालिका ५ का २१ वर्षीय गणेश महतो र लालबन्दी नगरपालिका ९ का १८ वर्षीय रोहित महतो शनिबार दिउँसोदेखि बेपत्ता भएका थिए ।

घटना भएको करिव २४ घण्टापछि दुवै युवक पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेका हुन् ।रोहितको शव बागमती सिँचाइ आयोजनाको ड्याम भन्दा तल खोलामा र गणेशको शव ड्यामभन्दा उत्तरतर्फ बागमती नगरपालिका ११ मा फेला परेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दा, युवकको परिवार र सुरक्षाकर्मी भएर खोजी गर्नेक्रममा खोलाले बगाएर बेपत्ता दुवै युवकको शव फेला परेको हो ।दुवै युवक साथीसँगै शनिबार दिउँसो नुनथर क्षेत्रमा घुमफिरका लागि गएको समयमा बागमती खोलाले बगाएर बेपत्ता भएका थिए । अन्य तीन जना युवा खोला तर्न सफल भएपनि रोहित र गणेश भने डुबेर बेपत्ता भएका थिए । रोहित र गणेशलाई बगाएको क्षेत्रमा बारम्बार यस प्रकारको दुर्घटना हुने गरेको छ । नुनथर र बागमती सिँचाइको ड्याम आसपास खोलामा पौडी खेल्न निषेध रहे पनि अन्यत्रबाट आउने युवा पौडी खेल्न पस्ने गरेकाले बारम्बार दुःखद घटना हुने गरेको स्थानीयले बताएका छन् ।

ताजा समाचार

Related Articles