हेटौँडा, जेठ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, मकवानपुरको प्रथम अधिवेशनबाट सभापतिमा सञ्जीव पाठक निर्विरोध निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मकवानपुरको शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले जिल्ला सभापतिमा पाठकलाई सभापतिमा निर्वाचित गरेको हो ।
कार्यसमिति उपसभापतिमा टाकाराज थापा (सुरेश), सचिवमा विशभ अधिकारी, सहसचिवमा शान्ति थापा तथा सदस्यहरुमा सम्झना पुडासैनी, पदम थिङ, सफल दूधराज, सदिक्षा रेग्मी र हलिया शेख सर्वसम्मत निर्वाचित हुनुभएको रास्वपा मकवानपुरले जनाएको छ ।

यस्तै सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा हरिहर खतिवडा र निर्वाचन क्षेत्र नम्बर २ को सभापति देवकुमार अर्याल निर्वाचित हुनुभएको रास्वपा मकवानपुरमा नवनिर्वाचत जिल्ला सचिव विशभ अधिकारीले बताउनुभयो । सङ्घीय निर्वाचन क्षेत्रका सभापति जिल्ला समितिको पदेन सदस्य हुने पार्टी विधानमा व्यवस्था रहेको छ ।
रास्वपा मकवानपुरका कार्यबाहक सभापति एवं प्रतिनिधि सभा सदस्य प्रकाश गौतमको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतिको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।
यसअघि जिल्लाका १० वटै पालिकाको प्रथम अधिवेशन सम्पन्न भईसकेको छ । १०२ वटा वडामध्ये ७० प्रतिशत वडा अधिवेशन सम्पन्न भईसकेको उक्त पार्टीले जनाएको छ




