मकवानपुर, जेठ २३ गते । मकवानपुर इन्द्रसरोबर गाउँपालिका ३ मा सुमो र जिप एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु र १८ जना घाइते भएका छन् । हेटौँडा–काठमाडौँ जोड्ने कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डको इन्द्रसरोबर गाउँपालिका ३ स्थित धारामा शनिबार हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ७२०७ नं.को सुमोसँग विपरीत दिशा तर्फबाट आउँदै गरेको बिएए ९७६८ न.को जिप ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

गाडीमा सवार काभ्रेपलोञ्चोक जिल्ला पनौती नगरपालिका १ घर भई हाल काठमाडौँ बस्ने पूर्णबहादुर तामाङको दुर्घटना मृत्य भएको हो । दुर्घटनामा घाइते ३७ वर्षीय पूर्णबहादुर तामाङलाई बिएण्डबी अस्पतालमा उपचारार्थ लगिएकोमा शनिबार डाक्टरले मृत घोषणा गरेको र शव सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

बिएए ९७६८ नं.को बोलेरो पिकअप गाडी काठमाडौँ महानगरपालिका ३२ पेप्सीकोलास्थित पानी कम्पनीमा काम गर्ने कामदारहरु लिएर मकवानपुरको सिस्नेरीमा पिकनिकको लागि आउँदै गर्दा अनियन्त्रित भई पल्टिन गई सुमोमा ठक्कर खाएर दुर्घटना भएको थियो । बि.एण्ड बी.अस्पतालमा १७ जना र एक जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये ११ जनाको अवस्था मध्यम र सात जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

सुमो चालक काठमाडौँ चन्द्रागिरी नगरपालिका १४ का वर्ष ४५ को मनोज श्रेष्ठ प्रहरीको नियन्त्रणमा लिएको र घटनको बारेमा थप अनुसन्धानको लागी इलाका प्रहरी कायाल्य, भीमफेदी मकवानपुरबाट प्रहरी टोली खटिएको उहाँले बताउनुभयो ।




