पर्सा, जेठ २६ गते । जिल्ला अदालत पर्साले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने आदेश दिएको छ ।

जिल्ला अदालत पर्साका न्यायाधीश मोहन सुवेदीको इजलासले आज लामिछानेको माग बमोजिम उक्त कसुर फिर्ता लिने निर्णय सुनाएको हो । यस निर्णयसँगै लामिछानेमाथि लागेका विभिन्न आपराधिक अभियोगमध्ये अब केवल ‘सानो पाइला सहकारी’ ठगीसम्बन्धी मुद्दा मात्र बाँकी रहेको छ ।

यसअघि कास्की जिल्ला अदालतले पनि उनी विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने आदेश दिइसकेको छ । अदालतको आदेशमा उल्लेख भएअनुसार, जाहेरवालाको मुख्य ध्येय आफ्नो रकम फिर्ता पाउनु रहेको र सहकारी ठगीको दाबी यथावत् नै रहेकाले सङ्गठित अपराधको कसुर फिर्ता लिँदा न्याय निरूपणमा कुनै असर नपर्ने देखिएको छ ।




