गौशाला (महोत्तरी), जेठ २६ गते । प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफल दुई सातादेखि ठप्प भएको छ। प्रदेशसभा बैठक नियमित रूपमा सञ्चालन हुन नसक्दा नीति तथा कार्यक्रममाथिको संसदीय बहस अनिश्चित बनेको छ।

गत जेठ १५ गते प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसपछि जेठ १८ गतेदेखि छलफल प्रारम्भ भए पनि प्रारम्भिक दिनमै संशोधनकर्ता सांसदहरूले आ–आफ्ना धारणा राखेपछि प्रक्रिया अघि बढ्न सकेको थिएन।

तर जेठ १९ गतेको दोस्रो दिनको बैठकमा विपक्षी दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त रूपमा बैठक अवरुद्ध गरेपछि छलफल स्थगित भएको हो। त्यसयता प्रदेशसभाको कार्यसूची नियमित रूपमा अघि बढ्न सकेको छैन।




