मेक्सिको सिटी, जेठ ३० गते। विश्वकप फुटबल प्रतियोगिता–२०२६ को उद्घाटन खेलमा बिहीबार राति सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराएको छ । उद्घाटन खेलमै अन्तर्राष्ट्रिय फुटबलमा देखिने दुर्लभ घटना देखियो, त्यो हो तीन खेलाडीलाई रातो कार्ड । सन् २००६ मा भएको विश्वकप अन्तर्गत पोर्चुगल र नेदरल्यान्ड्सबिचका खेलमा चार रातो कार्ड देखाइएको थियो । यति धेरै रातो कार्ड विश्वकपको कुनै पनि खेलमा देखाइको थिएन । पोर्चुगल र नेदरल्यान्ड्सबिचको खेलमा देखाइएको चार रातो कार्ड नै अहिलेसम्मको सबभन्दा बढी कारबाही हो । सो तनावपूर्ण खेलमा १६ पहेँलो कार्ड पनि देखाइएको थियो । पछिल्लो विश्वकपमा पनि पूरा प्रतियोगिताभरि मात्र चार रातो कार्ड देखाइएको थियो तर मेक्सिको सिटीस्थित अज्टेका रङ्गशालामा रेफ्रीले दक्षिण अफ्रिकाका दुई खेलाडी सिथोल र थेम्बा जुवानी तथा मेक्सिकोका सेजार मोन्टेसलाई रातो कार्ड देखाए ।

विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले कारबाहीका कारण बिचमै मैदान छोडेको यो पहिलो पटक हो । यी तिनै खेलाडीलाई सिधै रातो कार्ड देखाइएको थियो । दोस्रो हाफको सुरुवातमै मेक्सिकोको ब्रायन गुटिरेजलाई नराम्ररी लडाएपछि सिथोलले रातो कार्ड पाउनुभयो । खेलको ८४ औँ मिनेटमा रोवर्टो अल्भार्डोको अनुहारमा प्रहार गरेपछि ज्वानीले पनि सिधै रातो कार्ड बेहोर्नुभयो । यसै गरी इन्जुरी समयमा खुलिसो मुडाउलाई लडाएपछि मेक्सिकोका मोन्टेसले पनि रातो कार्ड पाउनुभयो । रातो कार्डको छायामा परेको खेलमा सहआयोजक मेक्सिकोले विजयी सुरुवात गरेर ८० हजार ८२४ दर्शक उपस्थित रङ्गशाला गुन्जायमान बनायो । यस जितले मेक्सिकोलाई समूह चरणबाट अगाडि बढ्न मात्र होइन समूह विजेताकै होडमा पनि प्रवल दाबेदार बनाएको छ । पछिल्लो विश्वकपमा मेक्सिकोले समूह चरण पार गर्न सकेको थिएन । कतार विश्वकपअघिका सात संस्करणमा मेक्सिकोले समूह चरण पार गरे पनि प्रिक्वाटरफाइनलमा निराशा बेहोरेको थियो । मेक्सिको यसपालि घरेलु मैदानमा लामो यात्रा तय गर्ने दाउमा छ । सन् १९७० र १९८६ मा क्वाटरफाइनल खेल्दा मेक्सिकोले नै विश्वकपको आयोजना गरेको थियो ।

मेक्सिकोका लागि पहिलो खेलमा जुलियन क्विननोन्स र राउल जिमिनेजले गोल गर्र्नुभयो । खेलको सुरुवातदेखि नै आक्रमणमा खटेको मेक्सिकोले नवौँ मिनेटमै सफलता प्राप्त ग¥यो । दक्षिण अफ्रिकाका डिफेन्डरको गल्तीमा बल पाएपछि क्विननोन्सले गोल गर्नुभयो । कोलम्बियामा जन्मनुभएका २९ वर्षीय फरवार्ड क्विन्नोन्स यस सत्रमा साउदी लिगका सर्वाधिक गोलकर्ता पनि हुनुहुन्छ । खेलको ६६ औँ मिनेटमा कोलम्बियाका अनुभवी खेलाडी जिमिनेजले हेड गोल गरी मेक्सिकोको अग्रता दोब्बर बनाउनुभयो । मेक्सिकोको जर्सीमा जिमिनेजको यो ४६ औँ गोल हो । यद्यपि तीन पटक विश्वकप खेलिसकेका जिमिनेज विश्वको सबभन्दा ठुलो फुटबल मञ्चमा भने पहिलो पटक गोल गर्न सफल हुनुभएको हो । जिमिनेजले मेक्सिकोका सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका जारातो बोर्गटीको बराबरी पनि गर्नुभयो । यी दुवै मेक्सिकोका लागि सर्वाधिक गोल गर्ने ह्याभियर चिराइटो हर्नान्डेजभन्दा छ गोलले पछाडि छन् । सन् २०२० मा गम्भीर चोट बोकेका जिमिनेजले सुरक्षात्मक हेडगार्डसहित खेल्नुभएको थियो ।




