काठमाडौँ, असार १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सङ्घर्ष र बलिदान गरेका नेपाली जनताको चाहना भनेको नै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीब्र विकास, शान्ति र प्रगति भएको बताउनुभएको छ । लोकसेवा आयोगको ७६ औँ वार्षिकोत्सवमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा राज्य संयन्त्रलाई समायानुकुल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान, जिम्मेवार तथा राष्ट्रपति समर्पित कर्मचारीले यो भूमिकालाई परिणाममुखी बनाउन सक्दछन् । प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्दछ । यसले नै लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्दछ ।”

राष्ट्रपति पौडेलले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु पर्ने खाँचो अझै रहेको स्पष्ट पार्नुभयो । हाँले भन्नुभयो,“आयोगप्रतिको भरोसा र विश्वास एवम् यसले अवलम्बन गरेको सिद्धान्त र प्रणालीका कारण मिहिनेती युवाले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई हामीले बिर्सन हुँदैन । विगतमा हासिल गरको अनुभव, ज्ञानसँगै विश्वव्यापीरूपमा विकसित यससम्बन्धी सिद्धान्त र प्रणालीसमेतको अध्ययनको आधारमा आफ्नो कामलाई भविष्यमा थप परिष्कृत गर्न आयोगले विशेष योगदान दिने नै छ भन्ने म ठान्दछु ।”

उहाँले लोकसेवा आयोग सरकारी सेवामा कर्मचारी छनाेट र भर्ना गर्ने एउटा महत्त्वपूर्ण निकाय भएको उल्लेख गर्दै यसले सदैव असल र उम्दा कर्मचारी छनाेट गर्न सक्ने गरी आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउँदै कर्मचारी छनाेटमा समयसापेक्ष परीक्षण विधि-प्रविधि अवलम्बन गर्दै जानुपर्नेतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “कर्मचारी छनाेट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले आजसम्म गरेको योगदान प्रशंसनीय छ । यो विश्वास, भरोसा एवं प्रतिष्ठालाई आगामी दिनमा अझ प्रभावकारी तवरले पूरा गर्न तपाईँहरूले विशेष मिहिनेत गर्नु नै हुने छ भन्ने मैले विश्वास लिएको छु ।” राष्ट्रपति पौडेलले लोकसेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै आफ्ना कार्य सम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तर कायमै राखी भाबी योजना तय गर्नुपर्ने चुनौती रहेको भन्दै वार्षिकोत्सवको क्षणमा विगतको कामको समीक्षा र भाबी चुनौतीलाई सामना गर्ने गरी योजना तय गर्न सुझाव दिनुभयो ।




