हेटौँडा, असार १३ गते । मकवानपुरमा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूले कार्यस्थलमा सुरक्षा सामग्रीको अभावसँगै सामाजिक सुरक्षाका कार्यक्रमको पहुँचविहीन अवस्थामा रहेको पाइएका छ ।
हेटौँडामा शुक्रबार आयोजित श्रम सुनुवाइ कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूले कार्यस्थलमा सुरक्षा अभाव, न्यून पारिश्रमिक, ढिलो ज्याला, आवश्यक सुरक्षा सामग्रीको कमी तथा सामाजिक सुरक्षाको पहुँच नहुँदा विभिन्न समस्या भोग्नुपरेको बताएका छन्।

मकवानपुर महिला उत्थान समाजको आयोजनामा भएको कार्यक्रममा महिला श्रमिकहरूले जोखिमपूर्ण वातावरणमा काम गर्नुपरे पनि पन्जा, बुट, हेल्मेटलगायत सुरक्षा सामग्री पर्याप्त उपलब्ध नहुने, कामको स्पष्ट समन्वय नहुँदा विवाद हुने तथा स्वास्थ्य बिमाजस्ता सुविधा व्यवहारमा लागू नभएको गुनासो गरेका थिए ।
मनहरी गाउँपालिकाकी रोजगार संयोजक सुनिता लुइटेलले चालु आर्थिक वर्षमा अनौपचारिक श्रमिकको अभिलेखीकरणका लागि ५० हजार रुपियाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै ३० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्य रहेको बताउनुभयो । श्रम डेस्क सञ्चालनको योजना भए पनि बजेट अभावका कारण कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ ।
निर्माण व्यवसायी संघका उपमहासचिव सुरज बर्तौलाले ठूला आयोजनामा श्रमिकको बिमा अनिवार्य गरिए पनि साना योजनामा सुरक्षा व्यवस्थापन कमजोर रहेको स्वीकार गर्दै सबै श्रमिकका लागि समान सुरक्षा व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, विशेषगरी महिला श्रमिकका लागि लक्षित स्वास्थ्य कार्यक्रमको अभाव रहेको उल्लेख गर्दै स्वास्थ्य बिमा, पेशागत जोखिमबारे सचेतना तथा श्रमिक अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

कार्यक्रम संयोजक निशा लामाका अनुसार मनहरी गाउँपालिकामा कृषि, निर्माण, यातायात, घरेलु श्रम तथा नदीजन्य स्रोतमा आधारित क्षेत्रमा ठूलो संख्यामा अनौपचारिक श्रमिक कार्यरत छन् । उनीहरूको वास्तविक अवस्था, चुनौती र आवश्यकतालाई सम्बन्धित निकायसम्म पु¥याई समाधानका लागि पहल गर्ने उद्देश्यले श्रम सुनुवाइ आयोजना गरिएको हो।
कार्यक्रमबाट सम्बन्धित निकायलाई आगामी ६ महिनाभित्र श्रमिकको सुरक्षा, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न ठोस प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरिएको आयोजकले जनाएको छ ।




