चार होटललाई जरिवाना

लोकप्रिय

जनकपुरधाम, असार १८ गते । राजमार्ग क्षेत्रका होटलमा स्वास्थ्यसँग खेलवाड गर्नेगरी खाद्य सामग्रीको उत्पादन तथा विक्री वितरण भइरहेको गुनासो आएपछि मधेश प्रदेश सरकारले होटलको अनुगमन तीव्र बनाएको छ ।

मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा बिहीबार जनकपुर ढल्केबर सडक खण्डमा पर्ने डेढ दर्जन होटलको अनुगमन गर्दा होटलको किचेन सफा नरहेको, खानाको परिकार बनाउँदा प्रतिबन्धित तेलको प्रयोग गर्ने गरेको भेटिएको छ ।

त्यस्तै, होटलमा काम गर्नेहरुका लागि सेफ्टीको ख्याल नगरिएको जस्ता गतिविधि देखिएको अनुगमन टोलीमा रहनु भएका धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवम निरीक्षण अधिकृत कृष्ण गैह्रेले जानकारी दिनुभयो ।

उहाँले उपभोक्त संरक्षण ऐन २०७५ ले उपभोक्तालाई दिएको अधिकार विपरित काम गर्ने चारवटा होटललाई अनुगमनको क्रममा ठाउँको ठाउँ कारवाही गरी जरिवाना तिराएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार जनकपुर ढल्केबर सडक खण्डमा रहेको बाजेको सेकुवालाई ७५ हजार, बाबाको ढावालाई ३५ हजार, कन्ची फ्राई चिकेन बर्गर हाउसलाई ३५ हजार र होटल रोयल सम्राटलाई पाँच हजार जरिवाना तिराइएको छ ।

अनुगमनका क्रममा अधिकांश होटलमा खाद्य स्वच्छता सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना नगरेको, म्याद नाघेका खाद्य सामग्री भण्डारण गरिएको तथा अखाद्य सामग्रीको प्रयोग भएको भेटिएको अनुगमन टोलीको नेतृत्व गर्नुभएका गृह सञ्चार तथा कानुनमन्त्री महतोले जानकारी दिनुभयो ।

अनुगमन टोलीले होटल व्यवसायीलाई स्वच्छ, सफा र ताजा खाना मात्र बिक्री गर्न, मूल्यसूची अनुसार सेवा दिन, अत्यधिक मूल्य नलिन तथा प्रचलित मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles