मकवानपुर, असार २४ गते । बागमती प्रदेशलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश’ घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारले लामो प्रयासपछि शुक्रबार एक कार्यक्रमका बिच बागमती प्रदेशलाई ‘सहयोगापेक्षी सडक आश्रितमानवमुक्त प्रदेश’ गर्ने भएको हो । प्रदेश सरकारले गत तीन आर्थिक वर्षदेखि बागमती प्रदेशलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश’ घोषणा गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रम उल्लेख गर्दै आएपनि कार्यान्वयनमा आउन सकेको थिए ।

प्रदेशको सामाजिका विकास मन्त्रालयले ‘सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश’ घोषणासँगै कार्यान्वयनका लागि हेटौँडामा केन्द्रीय कार्यालय रहेको मानव सेवा आश्रमलाई छनोट गरेको जनाएको छ । सामाजिक विकास मन्त्रालयले गत माघ महिनामा नै सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माणका लागि कार्यरत संस्थाका लागि अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ समेत बनाइसकेको छ ।

मन्त्रालयका सचिव खुविराम अधिकारीले ‘सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश’ घोषणासँगै प्रदेश सरकारले कार्यक्रमको स्वामित्व लिन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सडक आश्रित बेसहारा नागरिकको उद्धार, संरक्षण र पुनस्र्थापना गर्दै प्रदेशलाई ’सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश’ घोषणा गर्ने लक्ष्य लिएको छ । यसका लागि सरकारले ’मानव उद्धार, पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि’ स्वीकृत गरी गैरसरकारी संस्था तथा मानवसेवा आश्रम सँग सहकार्य गरिरहेको छ ।’

सचिव अधिकारीले मानव सेवा आश्रमसँग कार्यक्रम कार्यान्वयनका लागि सम्झौतासँगै मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँबाट ‘सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश’ घोषणा गर्ने कार्यक्रम रहेको भन्दै सम्झौता आश्रमले उद्धार, पुस्र्थापना र पुनर्मिलनको कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँका अनुसार कार्यक्रमका लागि स्थानीय तहहरुबाट सहयोगको प्रतिबद्धता आएको छ । मन्त्रालयले सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ३५ लाख विनियोजन गरेकोमा आगामी आवका लागि दुई करोड रुपियाँ विनियोजन गरेको छ । आश्रमको हाल हेटौँडा, काठमाडौँ, चितवनलगायतका जिल्लामा गरी सात वटा केन्द्र रहेको र ती केन्द्रमा ९१२ जना आश्रित रहेका छन् ।




