सर्लाही, असार २९ गते । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा सोमबार यो वर्षकै सबैभन्दा ठुलो बाढी आएको छ । नुनथरस्थित बागमती नदीमा अवस्थित पधेरादोभान जल मापन केन्द्रमा सोमबार मध्यान्ह १२ बजेको मापनअनुसार बागमती नदीको जलसतह यो वर्षकै सबैभन्दा धेरै ३.९० मिटर मापन भएको छ ।

सोमबार अपरान्ह ४ बजे भने जलसतह घटेर ३.३० मिटर मापन भएको जल तथा मौसम विज्ञान विभागको पधेरादोभान जलमाापन केन्द्रमा कार्यरत जलमापन सहायक (गेज रिडर) राजु पाटा मगरले गोरखापत्र अनलाइनसँग बताउनुभयो ।

सोमबार दिउँसोदेखि पानी पर्न रोकिएपछि बागमती नदीमा पानीको सतह पुनः घट्न थालेको हो । हालसम्म बाढीले खतराको तह पार नगरे पनि सोमबार साँझतिबारट काठमाडौँलगायत पहाडी क्षेत्रतिर पुनः पानी परिरहेको हुँदा जुनसुकै बेला फेरि बाढी बढ्न सक्ने भएकाले महेन्द्र राजमार्गदेखि दक्षिणतर्फको तटीय क्षेत्रका वासिन्दालाई सचेत र सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।




