जनकपुरधाम, असार २९ गते । जनकपुरधाम उपमहानगरपालिकाको १५ औँ नगर सभामा आर्थिक वर्ष २०८३–०८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजारको आय व्यय सहितको बजेट पेश गरिएको छ । उपमहानगरपालिका ज्येष्ठ वडा नंं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले पेश गर्नुभएको बजेटमा चालुतर्फ १ अर्ब ४२ करोड ७७ लाख ९ हजार रहेको छ भने पुँजीगततर्फ १ अर्ब २२ करोड २२ लाख ५३ हजार रहेको छ ।

प्रस्तुत भएको बजेटमा आर्थिक विकासतर्फ ५ करोड ९४ लाख ५४ हजार ४ सय ८ रुपैयाँ विनियोजन भएको छ भने सामाजिक विकास तर्फ ८३ करोड २८ लाख ९८ हजार ७ सय ६२ रुपैयाँ विनियोजन भएको छ ।

यसै गरि पूर्वाधार विकासतर्फ ९१ करोड, २२ लाख ७८ हजार ८ सय ३० रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३१ करोड, ७४ लाख विनियोजन भएको छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५३ करोड रकम विनियोजन गरेको नगरप्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो । यस अघि १५ औँ नगरसभाको उद्घाटन सहित नगरपालिकाको आर्थिक वर्ष २०८३–०८४ का लागि नगर प्रमुख मनोज कुमार साहले नगरको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।




