संसद् लोकतन्त्रको केन्द्रबिन्दु: सभामुख अर्याल

लोकप्रिय

काठमाडौँ, असार ३१ गते । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबिचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने बताउनुभएको छ। सभामुख अर्यालले संसद् लोकतन्त्रको केन्द्रबिन्दु भएको र संसद्को जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्ने स्पष्ट पार्नुभयो। प्रतिनिधि सभाको बैठक स्थगित गर्नुअघि सदस्यलाई सम्बोधन गर्दै सभामुख अर्यालले प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा केही महत्त्वपूर्ण विधेयक पारित भएको जानकारी दिँदै चालु अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रमसहित विनियोजन विधेयक, २०८३, आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ समेत पारित भएको उल्लेख गर्नुभयो। उहाँले नयाँ गठन भएको प्रतिनिधि सभामा सदस्यहरूको भूमिका सक्रिय रहेको र आगामी बैठकमा अझ बढी सक्रियताको अपेक्षा गरेको बताउनुभयो।

चालु आर्थिक वर्ष २०८२–८३ को अन्त्यमा आइपुगेको सन्दर्भ जोड्दै सभामुखले भन्नुभयो, “चालु आर्थिक वर्षमा जारी भएका राज्यका नीति तथा सम्पादन भएका कार्यक्रम, तर्जुमा गरिएका कानुन र सेवा प्रवाहप्रति जनस्तरको प्रतिक्रिया, चासो र सुझावहरू सुन्ने र बुझ्ने प्राथमिक दायित्व प्रतिनिधि सभाका सदस्यहरूको रहन्छ।”

संविधानले सङ्घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुने संवैधानिक सिद्धान्त स्थापित गरेको उल्लेख गर्दै उहाँले सो मूल मर्मलाई आत्मसात् गर्दै तीनवटै तहबिचको विकास, कानुन निर्माण एवम् सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषयलाई थप सुमधुर तुल्याउन सांसदहरूले नेतृत्वदायी भूमिका लिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार प्रतिनिधि सभाका सदस्यहरू जनप्रतिनिधिसँगै जनता र संसद्बिच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु हुन्।

ताजा समाचार

Related Articles