हेटौँडा, साउन ३ गते । चितवन जिल्ला इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा दुई बस र एउटा ट्रक एकापसमा ठोक्किँदा घाइते भएका यात्रुको संख्या ३३ पुगेको छ ।
आइतबार बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र. ०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ३३ जनाको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ । घाइतेमध्ये २४ जनाको नयाँ मेडिकल कलेज भरतपुर र नौ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटनामा तीनवटै सवारीसाधनमा क्षति पुगेको थियो। केही समय दुवैतर्फ अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडकखण्ड भने सञ्चालनमा आइसकेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।




