हेटौँडा, साउन ३ गते । मकवानपुर जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दाको अवस्था शून्य भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा दुई ३१५ थान मुद्दा फछ्र्यौट गरेको जिल्ला अदालतमा १८ महिनादेखि दुई वर्षभित्रका मुद्दाको सङ्ख्या आर्थिक वर्ष २०८३/०८४ मा २६ वटा सरेर आएको छ ।
गत आवमा अघिल्ला आवबाट जिम्मेवारी सरेर आएको एक हजार २४३ र गत आवमा नयाँ दर्ताभएका दुई हजार ३९३ थान गरी तीन हजार ६३६ मुद्दा रहेका थिए ।
तीमध्ये एक हजार ३२१ थान मुद्दा चालु आवमा सरेर आएको मकवानपुर जिल्ला अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिनुभयो ।
चालु आवमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य रहेको छ उहाँले भन्नुभयो, गत आवमा फरक मुद्दा व्यवस्थापन कार्यान्वयनतर्फ सरल मार्ग समुहतर्फ अवधिभित्रको बाँकी ७४५, सामान्यतर्फ ३९५ र विशेषतर्फ एक सय वटा मुद्दा रहन गएको छ । उहाँका अनुसार अवधि नाघेका मुद्दा सरलतर्फ ३८, सामान्यतर्फ ४२ थान र विशेषतर्फ एक थान मुद्दा गत आवबाट चालुमा सरेर आएको छ ।
गत आवमा मेलमिलापकर्तामार्फत मेलमिलाप भएका मुद्दा सङ्ख्या ५३ र फैसला कार्यान्वयनतर्फ क्षतिपूर्ति २२ लाख ४५ हजार ८१९ रुपियाँ ८० पैसा भराईएको उहाँले बताउनुभयो ।
फैसला कार्यान्वयनतर्फ कैदमा पाँच हजार ६५७ वर्ष नौ महिना १५ दिन लगत रहेकोमा असुल उपर हुन बाँकी कैद चार हजार ८६ वर्ष पाँच महिना १४ दिन रहेको छ ।
यस्तै जरिवानातर्फ गत आवसम्ममा लगत चार अर्ब ८५ करोड ८६ लाख ५६ हजार ५९३ रुपियाँ ६६ पैसा रहेकोमा ८५.०७ प्रतिशत प्रगति भई असुल उपर हुन बाँकी ७२ करोड ५२ लाख ९० हजार ३७५ रुपियाँ ३४ पैसा रहेको छ ।




