मकवानपुर, साउन ६ गते । मकवानपुर प्रहरीले हेटौँडाबाट लागू औषध सहित चार जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं.१५ फारलाईनबाट स्थानीय ३९ वर्षीय आईतमान थिङ र ३८ वर्षीय सूर्य बललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लागू औषध बिक्री वितरण हुँदैछ भन्ने सूचनाको गएको प्रहरी टोलीले खानतलासी गर्दा निजहरुको साथबाट लागू औषध खैरोहेरोईन ४८० मिलि ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यस्तै हेटाँैडा उपमहानगरपालिका वडा नं.३ लेवटस्थित पूर्व पश्चिम सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा बा.७५प. ८२१७ नं. को मोटरसाईकल चालक स्थानीय २२ वर्षीय रवि स्याङतान र सोही मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका १ का २४ वर्षीय सुजन स्याङतानलाई लागू औषध खैरोहेरोईनसहित प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट नौ सय मिलि ग्राम खैरोहेरोईन फेला परेको थियो । चारै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागू औषध कसुर मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।




