एमएम ग्रुपद्वारा १० लाख सहयोग

लोकप्रिय

हेटौँडा, भदौ ११ गते । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ सरकारको आव्हानसँगै औद्योगिक एवं व्यापारिक प्रतिष्ठान र व्यावसायिक सङ्घ संस्थाहरुबाट सहयोग रकम जुट्ने क्रम सुरु भएकोे छ ।
रसुवा–नुवाकोट बुधबार आएको बाढी प्रभावितका लागि एमएम ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गरेको छ ।
रसुवा र नुवाकोट जिल्लामा गएको भीषण बाढी र पहिरोबाट प्रभावित भएकाहरूलाई राहत पु¥याउने उद्देश्यले एमएम ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपियाँ सहयोग प्रदान गरेको हो ।
ग्रुपका सञ्चालक स्वागत राज प्याकुरेलले उद्योग सङ्घ मकवानपुरको आग्रहमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत तथा पुनःस्थापना कार्यमा सघाउन उक्त रकम सहयोग प्रदान गरेको बताउनुभयो ।
उहाँले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को यस कठिन समयमा उद्धार र राहत सामग्री तुरुन्तै प्रत्येक प्रभावित परिवारसम्म पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
साथै एमएम ग्रुपले भनेको छ, “यस चुनौतीपूर्ण परिस्थितिमा हामी प्रभावित समुदाय, स्थानीय प्रशासन र दिनरात उद्धारमा खटिएका उद्धारकर्मीहरूसँग पूर्ण ऐक्यबद्धता जनाउँछौं।“ एमएम ग्रुपको हेटौँडा औद्योगिक क्षेत्रमा एमएम पोलिमर्स प्रा.लि. सञ्चालनमा रहेको छ ।
यस्तै मकवानपुर उद्योग वाणिज्य सङ्घले राहत कोषमा सहयोग गरेको छ । सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाटले पाँच लाख पाँच हजार ५५५ रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिनुभयो । यसैगरी व्यवसायी एवं समाजसेवी राजु अधिकारीले दुई लाख र बबिता श्रेष्टले एक लाख एक हजार रुपियाँ बाढी प्रभावितका लागि राहत कोषमा जम्मा गर्नुभएको छ ।

ताजा समाचार

Related Articles