मकवानपुर, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मकवानपुरका ६९ जना सम्पर्कविहीन भएका छन् । गोसाईकुण्डको तीर्थयात्रामा गएका, रसुवा जिल्लामा विभिन्न पेशा र व्यवसाय गर्दै आएका र कामको लागि गएका सम्पर्कविहीन बनेका हुन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कमा नआएका परिवारको जानकारी गराउन सार्वजनिक रूपमा आग्रह गरेपछि स्थानीय तह, परिवारका सदस्य, आफन्त र साथीभाईमार्फत जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइएको हो ।

जिल्ला प्रशासन कार्यालयका विपद् शाखाका कर्मचारी दीपककुमार पौडेलले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएको भन्दै विभिन्न माध्यमबाट जानकारी गराइएको ६९ जना सम्पर्कविहीनको प्रारम्भिक अभिलेख प्राप्त भएको बताउनुभयो । बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति, मकवानपुरको बैठकमा स्थानीय तहका प्रतिनिधिहरुले पालिकाका सम्पर्कविहीन व्यक्तिका बारेमा जानकारी गराएको उहाँले बताउनुभयो ।

बैठकमा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बकैया गाउँपालिका ४ नयाँदमार घर भई रसुवा जिल्लामा हाल कार्यरत नेपाल प्रहरकिा प्रहरी नायव निरीक्षक मदनकुमार स्याङ्बो सम्पर्कविहीन रहेको जानकारी गराउनुभएको थियो । उहाँले यसअघि बुधबारबाट सम्पर्कविहीन भएका बकैयाका सन्तलाल स्याङ्तान, तारा मुक्तान र ज्ञानध्वज बल सम्पर्कका आएको बताउनुभयो । मकवानपुरका सम्पर्कविहीनमध्ये सबैभन्दा बढी थाहा नगरपालिकामा रहेका छन् । यस्तै हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका, कैलाश गाउँपालिका भीमफेदी गाउँपालिका राक्सिराङ गाउँपालिका व्यक्ति सम्पर्कविहीन रहेको जानकारी प्राप्तभएको उहाँले बताउनुभयो ।

यसैबिच जिल्ला विपद् व्यवस्थापन समितिले रसुवाको भोटेकोसी नदीमा आएको बाढी क्षेत्रमा प्रभावित लक्षित राहत एवं सहयोग सङ्कलन र वितरण एकद्वार प्रणालीबाट गर्ने निर्णय गरिएको छ । राहत एवं सहयोग सङ्कलन र वितरणमा विकृतिसँगै दुरुपयोेग रोक्न समिति बैठकले एकद्वार प्रणालीबाट सङ्कलन र वितरण गर्ने निर्णय गरेको हो । बैठकले राहत एवं सहयोगका लागि सार्वजनिक रुपमा आव्हन निर्णय गरेको नासु पौडेलले बताउनुभयो । उहाँले राहत एवं सहयोग सङ्कलन र वितरण आधारिक माध्यमबाट मात्र गर्ने गरी निर्णय गरेको बताउनुभयो ।




