परीक्षा स्थगित गर्न निर्देशन

लोकप्रिय

काठमाडौँ, भदौ १२ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले सबै तहका परिक्षा स्थगित गर्न विश्वविद्यालयहरु तथा मातहतका निकायलाई निर्देशन दिएको छ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि सबै परीक्षा स्थगित गर्न शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निर्देशन दिनुभएको हो ।

विभिन्न विश्वविद्यालयका सहुकलपति समेत रहनुभएका पोखरेलले विश्वविद्यालय ऐनले दिएको विशेष अधिकार प्रयोग गरि यस्तो निर्देशन दिनुभएको हो । मन्त्रालयका अनुसार भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिइएको हो । साथै, भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउन समेत निर्देशन गरिएको छ । जस अनुसार सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने, अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्ने रहेका छन् ।

त्यस्तै, विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्ने,प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने र विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने पनि निर्देशनमा उल्लेख गरिएको छ ।

वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी उपर्युक्त व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न/गराउन आवश्यक निर्णय लिन मन्त्री पोखरेलले सम्बन्धित विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । साथै, विपद्को यस कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिन पनि मन्त्री पोखरेलले अनुरोध गर्नुभएको छ ।

ताजा समाचार

Related Articles