हेटौँडा, असोज ४ गते । नेपाल पुलिस स्कूल शान्तिपुर चितवनका विद्यार्थीहरूले भरतपुर महानगरपालिका सम्भावित दुर्घटना जोखिम भएका चोकहरूमा रातको समयमा टल्कने स्टिकरसहितका ड्रमहरू राख्न सुरुवात गरेका छन् । विद्यालय शिक्षामा सडक दुर्घटना, सवारी नियमका साथै ट्राफिक प्रहरीको जिम्मेवारीलगायतका विषयमा जानकारी पाएका विद्यार्थीहरूले आइतबार भरतपुरका विभिन्न चोकहरूमा चालिस वटा स्टिकर टासिएका ड्रमहरू राखेका हुन् । दुर्घटनाको जोखिम भएका चोकहरूमा सवारी आगमनलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले रातको समयमा टल्कने स्टिकरहरू टाँसिएका ड्रमहरू ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेल, चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक अनिल थापा, विद्यालयका शिक्षक कर्मचारी एवं विद्यार्थीहरूको सहभागितामा भरतपुर महानगरपालिका बुद्धचोक, गीतानगर, चोक बजार, शिवनगर, चनौलीलगायतका क्षेत्रमा सचेतनामूलक स्टिकर टाँसिएका ड्रम राखिएको हो । विद्यालयले आफ्नो सीएसआर अन्तर्गतको रकमबाट उपलब्ध गराएको सचेतनामूलक स्टिकर विद्यार्थीहरूले स्कुल आसपासका चोकहरूका साथै दुर्घटना जोखिम रहेका भरतपुरका विभिन्न चोकहरूमा राखिएको विद्यालय समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।
नेपाल पुलिस स्कूल शान्तिपुर चितवनले नियमित पठन पाठनका साथै विद्यार्थीहरूलाई सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकताको विषयमा विशेष प्रशिक्षण गर्दै आइरहेकोले सडक सुरक्षा, मानविय सहायता एवं सहयोगी भावनाको विकास भएको समादेशक थापाले जानकारी दिनु भयो । कक्षा १ देखि १० कक्षासम्म पठन पाठन भइरहेको प्रहरी स्कूल चितवनका विद्यार्थीहरूले आफ्नो एक दिन को खाजा खर्च कटाएर करिव एक लाख रूपियाँ भोटीकोसी बाढी प्रभावितहरूलाई सहयोग उपलब्ध गराएका थिए ।




