काठमाडौँ, असोज ५ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म एक हजार ४५१ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी एक हजार ४४९ जनाको शव फेला परेको हो । साथै दुई जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म एक हजार २९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको एक हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा एक हजार ३४२ जना व्यक्तिहरूलाई राखिएको छ ।




