नागोया (जापान), असोज ५ गते । नेपालको पुरुष कबड्डी टोलीले २० औं एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै आफ्नो यात्रा सुरु गरेको छ। तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ अङ्कले पराजित भयो ।

पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो । पहिलो हाफ सकिँदा नेपाल (२४–२८) ले मात्र पछाडि थियो । दोस्रो हाफमा थाइल्यान्डले ३१ र नेपालले २४ अङ्क बनाएको छ । नेपालले २९ रेड अङ्क र बोनस अङ्क १८ पायो । साथै एक सुपर अङ्कसमेत नेपालले प्राप्त गरेको थियो।

नेपालले भारतमा व्यावसायिक लिग खेल्ने घनश्याम रोकामगरको कप्तानीमा खेलेको थियो ।




