मकवानपुर, असोज ११ गते । कुलेखोनी जलविद्युत आयोजनाको जलाशय मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय (इन्द्रसरोवर ताल) मा पानीको सतह बढ्ने क्रम निरन्तर रहेपछि यात्रा सचेतनाका लागि आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा पानीको सतह बढ्नेक्रम जारी रहेको भन्दै यात्रा सचेतना अपनाउन आग्रह गरेको छ । मकवानपुर प्रशासनले आइतबार विशेष सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा पानीको सतह बढ्नेक्रम जारी रहेको भन्दै यात्रुहरुलाई यात्रा सचेतनासम्बन्धी विशेष सूचना जारी गरिएको बताउनुभयो । उहाँले जलाधार क्षेत्रमा भइरहेको वर्षालाई विश्लेषण गरी विद्युत प्राधिकरणले साइरन बजाइ सुरक्षाको मापदण्ड पूरा गरी जुनसुकै समयमा तालको ढोका खोल्न सक्ने जानकारी दिएको हुँदा हेटौँडा कुलेखानी हुँदै काठमाडौँ जाने र काठमाडौँ कुलेखानी हुँदै हेटौँडा आउने यात्रुहरुलाई यात्रा सचेतनाका आग्रह गरिएको जानकारी दिनुभयो ।

आइतबार दिउँसो ४ः०० बजे पश्चात् भैंसे हुँदै देउराली–सिस्नेरी–काठमाडौँतर्फ र पालुङ्ग हुँदै सिस्नेरी–देउराली– हेटौँडातर्फ कुनै पनि सवारी साधन सञ्चालन नगर्न सूचना जारी गरिएको छ । यस्तै सो सडकखण्डमा आइतबार दिउँसो ४ः०० बजेदेखि सोमबार विहान ५ः०० बजेसम्म कुनै पनि प्रकारको सवारी सञ्चालन नगर्न, नगराउन सूचनामा भनिएको छ । अत्यावश्यक काम परी काठमाडौँ जाने र हेटौँडातर्फ आउने यात्रुहरुले उक्त समयभित्र वा त्रिभुवन राजपथमा सवारी आवगमन व्यवस्थापनसम्बन्धी आइतबार जारी सूचना अनुसार गर्न, गराउनुहुन प्रशासनले आग्रह गरेको छ ।

उक्त मार्गमा यात्रा गर्ने यात्रु र सवारी चालकले जिल्ला प्रशासन कार्यालयको आधिकारिक सूचना हेरेर मात्रै यात्रा गर्न, गराउन हुन अनुरोध गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । कुलेखानी जलविद्युत केन्द्रको बाँध नियन्त्रण कक्षका अनुसार आइतबार दिउँसो २ः१७ बजे जलविद्युत् आयोजनाको जलाशयको पानीको सतह समुद्री सतहबाट एक हजार ५२६.५२ मिटर पुगेको छ । जलाशयमा समुद्री सतहबाट एक हजार ५३० मिटर उचाइसम्म पानी जम्मा गर्ने क्षमताको रहेको छ । कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रबन्धक प्रल्हाद राउतले जलाशयको सतह एक हजार ५२७ मिटर पुगेपछि पहिलो पटक सुरक्षाको साइरन बजाउने गरी व्यवस्था गरिएको बताउनुभयो ।




