हिमपातले बेपत्ता पशुको उद्धार

लोकप्रिय

हुम्ला, कात्तिक ६ गते । नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा चरनका लागि छाडिएका बेला हिमपात हुँदा बेपत्ता भएका चौरी गाईसहित तीन सयभन्दा बढी पशुको उद्धार गरिएको छ ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङसहितको टोली खोजीमा जाँदा लाप्चा क्षेत्रको साँक्या खोलामा  सकुशल फेला परेका हुन् । बेपत्ता पशुको खोजीका लागि आफूसहित लिमीका स्थानीयको टोली लाप्चा क्षेत्र पुग्दा साँक्या खोलामा हिउँमा उभिएको अवस्थामा बेपत्ता भएकामध्ये ३०७ पशु भेटिएपछि तुम्लिङमा सुरक्षित ल्याएको उहाँले बताउनुभयो ।

पशुको खोजीका लागि उहाँहरु चारवटा समूहमा जानुभएको थियो । आशा मारिसकेको अवस्थामा पनि पशुहरु जीवितै भेटिएको उहाँको भनाइ छ । गत असोज १० र ११ गते परेको हिमपातपछि ती पशु बेपत्ता भएका थिए । २७ दिन घाँस नखाएर भएपनि पशु बाँच्न सफल भएको बताउदै उहाँले गाउँवासीले ती पशुको जीवित पाउने आशा मारेको अवस्थामा उद्धार कार्य भएको उहाँको भनाइ छ ।

हाल पत्ता लागेका पशुमध्ये पचास वटा घोडा, २० वटा झोपा र बाँकी २३७ वटा चौरीगाई रहेका छन् । तीन वटा समूह अझै खोजीमै रहेका कारण आज केही पशुको पत्ता लाग्ने उहाँले बताउनुभयो । घोडाहरुले आफ्नो पुच्छर आफै खाएको कारण पुच्छर भने कुनै पनि घोडाको छैन ।

ताजा समाचार

Related Articles