हेटौँडा, कात्तिक ११ गते । बागमती प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले आकस्मिक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन मातहतका कार्यालयहरुलाई निर्देशन दिएको छ ।
सम्भावित भारी वर्षा तथा विपदका लागि पूर्व तयारी तथा प्रतिकार्यका लागि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
यही कात्तिक १२ गते बिहीबारदेखि १४ गतेसम्म चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको भन्दै यसबाट बाढी, पहिरो, डुवान तथा अन्य प्राकृतिक प्रकोपजन्य घटना भई जनस्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयको योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख डा. दुर्गादत्त चापागाईले सम्बन्धित कार्यालय प्रमुखहरूले आफ्नो कार्यालय तथा मातहतका स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई उच्च सतर्कतामा राखी आवश्यक समन्वय, सूचना आदान–प्रदान तथा आकस्मिक प्रतिकार्यका लागि तगारी अवस्थामा रहन भनिएको जानकारी दिनुभयो ।
मन्त्रालयलले बुधबार कार्यालयहरुलाई पत्राचार गर्दै चौबिसै घण्टा सम्पर्कमा रहने एक जना आपतकालीन सम्पर्क व्यक्ति तोकी निजको सम्पर्क विवरण मन्त्रालयमा उपलब्ध गराउन र अस्पताल, जनस्वास्थ्य कार्यालय र आयूर्वेद तथा वैकल्पिक चिकित्सालयलगायतका मातहतका संस्थाहरूले आकस्मिक चिकित्सक टोली र द्रूत प्रतिकार्य टोलीलाई पूर्ण तयारी अवस्थामा राख्न भनेको छ ।
साथै उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामाग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोत–साधनहरूको विवरण अद्यावधिक गरी तयारी अवस्थामा राख्ने र घटना र अवस्थाको दैनिक अनिवार्य रूपमा पठाउने व्यवस्थ ागर्न मातहतका कार्यालयहरुलाई मन्त्रालयले निर्देशन गरेको छ ।




