लागूऔषध नियन्त्रणसम्बन्धी समन्वय बैठक सम्पन्न

लोकप्रिय

हेटौँडा, कात्तिक ११ गते । हेटौंडा उपमहानगरपालिकामा लागूऔषध नियन्त्रण तथा महिला क्षति न्यूनीकरणसम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर ओली, नगर प्रवक्ता तथा १ नम्बर वडाध्यक्ष सविन न्यौपाने, सिआन महिला पुनर्स्थापना केन्द्र संचालक तन्या अग्रवाल, सिआन पुरुष पुनर्स्थापना केन्द्र संचालक सौजन डिसीलगायतको सहभागिता थियो ।

सिआन पुनर्स्थापना केन्द्रको महिला क्षति न्यूनीकरण परियोजनाअन्तर्गत आयोजित बैठकमा लागूऔषध नियन्त्रण, महिला लक्षित कार्यक्रम तथा सरोकारवाला निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
बैठकमा सिआन पुनर्स्थापना केन्द्रका प्रमुख सञ्चालन अधिकृत मनिषमान श्रेष्ठले केन्द्र तथा परियोजनामार्फत विगत वर्षमा सञ्चालन गरिएका कार्यक्रम, उपलब्धि, प्रगति विवरण र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले लागूऔषध प्रयोगबाट प्रभावित व्यक्ति तथा महिलाको स्वास्थ्य, सुरक्षा र अधिकार संरक्षणसँगै उपचार, पुनर्स्थापना तथा सामाजिक पुनःएकीकरणका लागि स्थानीय सरकार र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

लागूऔषध नियन्त्रण समिति गठन कार्यविधि २०७६’ नगर  प्रमुख, उपप्रमुख, नगर प्रवक्ता तथा प्रमुख प्रशासकीय अधिकृतसमक्ष हस्तान्तरण गरिएको थियो । कार्यविधिअनुसार समिति गठनका लागि आवश्यक पहल र समन्वय गर्न आग्रह गरिएको थियो।
स्थानीय तहको नेतृत्वमा सरकारी निकाय, स्वास्थ्य संस्था, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थालाई समेटेर लागूऔषध नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा बैठकमा जोड दिइएको थियो ।
लागूऔषध नियन्त्रणलाई कानुनी तथा सुरक्षा चुनौतीका रूपमा मात्र नभई सार्वजनिक स्वास्थ्य, मानव अधिकार र सामाजिक विकाससँग जोडेर अघि बढाउनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

ताजा समाचार

Related Articles