खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १७ गते । हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा आयोजित पाँच दिवसीय निःशुल्क बृहत् योग शिविर सम्पन्न भएको छ ।
पतञ्जली योग समिति हेटौँडा–७ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा भएको शिविर मङ्गलबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
शिविरको समापनमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले हरेक क्षेत्रमा योग, ध्यान र प्राणायाम सञ्चालन भएको भन्दै योगले स्वस्थ जीवन निर्माणमा सहयोग पुग्ने बताउनुभयो । ‘घर–घरमा योग, जन–जनमा योग’ अभियान मार्फत नागरिकको दैनिक जीवनमा योग अभ्यासको पहुँच विस्तार गर्न योगदान पुग्ने बताउनुभयो । देव यज्ञ हवनादि कार्यक्रम गरी शिविरको कार्यक्रम समापन गरिएको थियो ।
समापन कार्यक्रममा प्रमुख प्रशिक्षक मुख्य केन्द्रीय प्रभारी आदरणीय लवदेव गुरु, संयोजक रामप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियो ।
यसअघि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले शिविरको उद्घाटन गर्नुभएको थियो ।
योग तथा प्राणायामका माध्यमबाट नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।




