पटकालगायतका प्रज्वलनशील पदार्थको बिक्री वितरणमा रोक

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १९ गते । तिहार, नेपाल संवत् र छठ पर्वको पूर्वसन्ध्यामा मकवानपुर प्रशासनले जिल्लाको शान्ति सुरक्षालाई चुस्त बनाउन रणनीति बनाएको छ। चाडबाडको क्रममा हुने आपराधिक गतिविधि, होहल्ला र उच्छृङ्खलता नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले नौ बुँदे विज्ञप्ति जारी गर्दै सरकारी नियम उल्लङ्घन गरे कडा कारबाहीको चेतावनी दिएको छ।

प्रशासनद्वारा जारी विज्ञप्तिअनुसार देउसी तथा भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू राति ९ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। पटका, भुइँचम्पा, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको भण्डारण, बिक्री वितरण, ओसारपसार तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको छ। दीप प्रज्वलन तथा विद्युतीय सजावटका उपकरण प्रयोग गर्दा आगलागीको जोखिम रहने हुँदा उच्च सतर्कता अपनाउन विज्ञप्तिमा भनिएको छ। जुवा, तास, लङ्गुरबुर्जा खेल्नरखेलाउन तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला वा झैझगडा गर्न सख्त मनाही गरिएको छ।

साथै सरकारी निर्णयानुसार प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण नगर्न सचेत गराइएको छ। बजारमा खाद्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि, म्याद गुज्रिएका सामग्री बिक्री तथा सवारी साधनमा तोकिएभन्दा बढी भाडा लिने वा क्षमताभन्दा बढी यात्री राख्ने कार्य गरेमा कारबाही हुने भन्दै मकवानपुर प्रशासनद्वारा शान्ति सुव्यवस्थामा खलल पुग्ने गतिविधि भएमा तत्काल प्रहरी नियन्त्रण कक्षको १०० मा वा नजिकैको प्रहरी इकाईमा खबर गर्न अपिल गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लिखित नियम विपरीत कार्य गरे प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने उल्लेख छ।

ताजा समाचार

Related Articles