विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

लोकप्रिय

काठमाडौँ, असोज २३ गते ।   विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित  मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ ।

त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्ररित गर्ने बताउनुहुन्छ ।

दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उहाँको सुझाव छ । उहाँका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणेन्द्र बरालले बताउनुभयो । 

“सरकारी स्वास्थ्य संस्थामा मनोचिकित्सकहरू कम हुनुहुन्छ । त्यसमा पनि उहाँहरू सहरकेन्द्रित हुनुहुन्छ”, शाखा प्रमुख डा बरालले भन्नुहुन्छ, “दूरदराजका २२ जिल्लामा महिनामा एकपटक मनोचिकित्सकले मानसिक स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ ।” सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ ।

ताजा समाचार

Related Articles