चितवन, असोज २३ गते ।
सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ ।
बैंकको ऋण टिकाउनैका लागि कतिपयले कुखुरा पालिरहेका छन् । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार नेपालमा अण्डा पार्ने लेयर्स कुखुरा फार्म आठ हजार वटासम्म पुगेका थिए । यो सङ्ख्या घटेर अहिले चार हजारभन्दा तल छ । पोल्ट्री व्यवसायीसमेत रहनुभएका उहाँले भन्नुभयो, “धेरै विस्थापित भए, जति छन्, उनीहरूमध्ये आधाले बैंकलाई देखाउनकै लागि मात्रै कुखुरा पालिरहेका छन् ।”
देशभरमा पोल्ट्री व्यवसाय धरासायी हुने अवस्थामा पुगेपछि अर्बौँ लगानी गर्नुभएका पोल्ट्री व्यवसायी विनोद पोखरेलले आफ्नो अगुवाइमा नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गर्नुभयो । उहाँले भन्नुभयो, “व्यवसाय सिद्धिने अवस्थामा पुगेपछि गत वर्ष हामीले सङ्गठित बनेर देशव्यापी दौडाहा अभियानमा लाग्यौँ ।” आफ्नो व्यवसाय छाडेर सामूहिक हितका लागि पोखरेलको समूहले देशका सबै जिल्लामा पुगेर अण्डाको बजारीकरणसँगै सचेतना काममा जुट्यो ।
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा चार लाख लेयर्स कुखुरा पाल्दै आउनुभएका दाउन्ने कर्पोरेटका सञ्चालक पोखरेलले भन्नुभयो, “टिक्नका लागि हामी सङ्गठित भएर लागेका हौँ ।” बाहिरबाट देखिएजस्तो अवस्था नरहेको उहाँले बताउनुभयो ।
वर्षौँदेखि नोक्सानमा काम गर्नुपर्दा धेरै विस्थापित भएको र रहेकाहरू ऋणमा टिकेको उहाँको भनाइ छ । अहिले अण्डाको लागत मूल्य प्रतिगोटा रु १७ हुन आउँछ । किसानले हाल रु १३ हाराहारीमात्रै पाएका छन् । लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्नुपरेपछि धेरै किसान विस्थापित भएको उहाँ बताउनुहुन्छ ।