काठमाडौँ, असोज २३ गते ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्नुहुन्छ ।
सांसदसँग रासस संवादमार्फत उहाँले युवा र विद्यार्थीलाई विदेश पलायन होइन, डाँडाकाँडा, नदीको धाप र गाउँलाई सुन्दर सहर बनाउँदै समृद्ध राष्ट्र निर्माण अभियानमा जुटेर गौरव गर्न आह्वान गर्नुभयो ।
पूर्वमन्त्री साहले भन्नुभयो, “देश छाडेर भाग्ने महान् जस्तो, यहीँ बसेर धर्तीको सेवा गर्ने अपमानित र लाछीजस्तो देखियो, त्यसलाई बदल्न जरुरी छ । यो धर्तीमा बस्न पाएकामा गौरव गर्नुस् ।”
जनतामा आशा र उत्साह जागृत गराएमा पहाड बनिरहेको नदी धापलाई सहरमा परिणत गरेको उदाहरण आफ्नो निर्वाचन क्षेत्र भएको दाबी गर्दै उहाँले भन्नुभयो, “विदेश भाग्ने तिमीहरू गल्ती गर्दैछौँ, हामी मुलुकलाई सुन्दर बनाएर देखाउँछौँ, कायर र कमजोर होइनौँ, हामी महान् छौँ ।”
वाग्मती र बकैया नदीबाट प्रभावित रौतहटको धाप क्षेत्रबाट आफूले राजनीति सुरु गरेको समय कयौँले घर र खेती छाडेर सहर पसेको घटना स्मरण गराउँदै पूर्वसहरी विकासमन्त्री साहले अहिले त्यो ठाउँ सुन्दर गाउँ र नमूनामा बस्तीमा परिणत भएको दाबी गर्नुभयो ।
जनतामा आशा र भरोसा दिँदै रौतहटको अभियान देशभर फैलाउन आवश्यक रहेको बताउँदै नेता साहले सही र गलत व्यवहार र तथ्यले परीक्षण गरी नेपाल बनाउने अभियानमा सरिक हुन युवापुस्तालाई सुझाव दिनुभयो । उहाँ भन्नुहुन्छ, “नेपालमा अहिले भइरहेको अभ्यास संसदीय व्यवस्था नभई पार्टीका नेताको हालीमुहाली हो । सांसद र सदन भारदारी सभाजस्तो छ ।”
सांसदको काम भनेको ताली बजाउने र एस वा नोमा सीमित रहेको बताउँदै अध्यक्ष साहले भन्नुभयो, “नेताहरूले शासन गरिहनुभएको छ, उहाँहरूको स्तरमा जे हुन्छ, सदनमा त्यसलाई ल्याएर औपचारिकता दिने र पारित गर्नेमात्र काम हुन्छ ।”