पूर्व प्रहरीलाई अटो रिक्सा तालिम

लोकप्रिय

हेटौँडा, फागुन १८ गते ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा पूर्व प्रहरी र बहालवाला प्रहरी कर्मचारीका लागि हेटौँडामा अटो रिक्सा तालिम सुरुभएको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले १६ कार्यदिनको अटोरिक्सा चालक तालिम प्रथम समूहको आइतबार एक काय्रकमका बिच उद्घाटन गर्नुभयो ।
नेपाल प्रहरीका पूर्व प्रहरी कर्मचारी/अमर प्रहरी परिवार तथा बहालवाला प्रहरी कर्मचारी स्वावलम्बी कार्ययोजना–२०८१ बागमती प्रदेशबाट सुरुवात गरिएको हो ।
प्रहरी नायव महानिरीक्षक शर्माले प्रहरी सेवाबाट अवकाश प्राप्त पूर्व प्रहरी कर्मचारी, सेवावधि छ महिना बाँकी रहेका बहालवाला प्रहरी कर्मचारीहरू र कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त अमर प्रहरी परिवारका सदस्यलाई जीवन निर्वाहमूखी ज्ञान, सीप दिइ उद्यमशीलतामा सहभागी गराई स्वरोजगार, स्वावलम्बी र आत्मनिर्भर बनाई समाजमा सम्मानित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
तालिममा १५ पूर्व प्रहरी र ११ बहालवाला गरी २६ जनाको सहभागिता रहेको छ ।
“आजको प्रहरी, भोलिको पूर्व प्रहरी, देश र जनताको सच्चा पहरेदार” भन्ने बुझाइलाई आत्मसात गरी देश र जनताको सेवामा लामो समय व्यतीत गर्दाको अनुभव, त्याग र समर्पणलाई समाजमा नै आत्मनिर्भर बनाई राख्दै प्रहरीको व्यक्तिगत, पारिवारिक जीवनमा आर्थिक समृद्धि, सामाजिक जीवन प्रहरी हुदाँका बखत जत्तिकै सक्रिय बनाउँदै शान्तिसुरक्षाका सच्चा पहरेदारबाट समाजमा अमनचैन राख्न टेवा पुर्‍याउने सोचका साथ यो कार्ययोजना शुरु भएको कार्यक्रममा जानकारी गराइएको थियो । सुरक्षित सडकको सोचलाई मध्यनजर गरी सडक नियमसँग अभ्यस्त पूर्व प्रहरीलाई सुरक्षित सवारी चलाउने आधारभूत ज्ञान, सीप र मर्मतको तालीम दिने र प्रक्रिया पूरा गरी सवारी चालक अनुमतिपत्र लिइ आफ्नो पेन्सन पट्टालाई राष्ट्रिय वाणिज्य बैङ्कमा धितो राखी किस्ताबन्दीमा टेम्पो खरिद गर्ने प्रबन्ध गर्न बागमती प्रदेश प्रहरी कार्यालयले समन्वय र सहजीकरण गरिदिने भएको छ ।
उक्त कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश राष्ट्रिय अनुसन्धान कार्यालय हेटौँडाका अनुसन्धान निर्देशक सञ्जयकुमार यादव, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापालगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles