विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन माग

लोकप्रिय

हेटौँडा, फागुन १९ गते ।
बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याएको बागमती प्रदेश विश्वविद्यालयमा डीन नियुक्तिका लागि आवेदन माग गरिएको छ ।
विश्वविद्यालयको केन्द्रीय कार्यालयले इन्जिनियरिङ वा व्यवस्थापन विधाका डीन नियुक्तिका लागि आवदेन माग गरेको हो ।
विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले विश्वविद्यालयमा तीन वटा संकाय भएपनि हाललाई इन्जिनियरिङ वा व्यवस्थापनमध्ये एउटा विद्या अर्थात् संकायका लागि मात्र डीन नियुक्ति गर्ने गरी आवेदन माग गरिएको बताउनुभयो ।
प्रदेश विश्वविद्यालयमा विज्ञान तथा प्रविधि संकाय, व्यवस्थापन तथा कानुन संकाय र शिक्षा तथा सामाजिक विज्ञान संकाय रहेका छन् ।
प्रदेश विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालय हेटौँडामा आवश्यक कागजातसहित आवेदन दिन भन्दै विश्वविद्यालयले प्रदेश उच्च शिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९ संसोधन सहित प्रदेश विश्वविद्यालयको विधान २०८१ र बागमती प्रदेश विश्वविद्यालयको डीन सिफारिस सम्बन्धी मापदण्ड, २०८१ अनुसार आवेदन माग गरिएको जनाएको छ ।
डीनका उम्मेदवारले निवेदनसहित व्यक्तिगत विवरणसहित विश्वविद्यालयको अवधारणासहितको सम्बन्धित सङ्कायको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने छ ।
साथै आवेदकको उमेर सिमा ५६ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा द्वितीय श्रेणीमा स्नातकोत्तर तह वा सो सरह उत्र्तीण गरेको, मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि गरेको, स्तरीकृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेख तथा स्तरीकृत भएका पुस्तक तथा सामग्रीहरू प्रकाशित पुस्तकहरूको सक्कलप्रति र प्रकाशित लेखरचना (प्रकाशित जर्नलको पहिचान प्रष्ट खुल्नेगरी) प्रमाणित प्रतिलिपि, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कोषबाट सञ्चालित अनुसन्धान परियोजनाको नेतृत्व तथा कोष वृद्धि र राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी भए गरेका अनुभव पेस गर्नुपर्ने छ ।
विश्वविद्यालयका अनुसार आवेदकले उच्च शिक्षा प्रदायक संस्थामा काम गर्दा वा नेतृत्व तहमा वा व्यवस्थापन तहमा गरेको कार्य अनुभव र उपलब्धि तथा कम्तिमा पाँच वर्ष विश्वविद्यालय अन्तर्गतका शिक्षण संस्थामा शिक्षण गरेको अनुभव गरेको हुनुपर्नेछ ।
विश्वविद्यालयका सम्बन्धित सङ्कायसँग स्वार्थ बाझिने गरी विभिन्न निजी शैक्षिक संस्थाहरूमा लगानी नभएको÷नगरेको स्वघोषणा, कुनै पनि फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको स्वः घोषणा (कुनै कानुनले अयोग्य नठहरिएको), कुनै राजनैतिक दलको सदस्य नरहेको र पदमा रहँदासम्म राजनैतिक दलसँग आबद्ध नहुने स्वःघोषणा, र विदेशी स्थायी आवसीय अनुमतिपत्र नलिएको र कुनै कानुनले अयोग्य नरहेको स्वःघोषणा गर्नुपर्ने छ ।
उहाँका अनुसार आगामी आर्थिक वर्षमा बाँकी संकायमा पनि डीन नियुक्तिको प्रक्रिया अगाडि बताइने छ ।

ताजा समाचार

Related Articles