सिन्धुली- गत असोजमा आएको बाढिले भत्किएको बिपी राजमार्गस्थित सिन्धुलीतर्फको सडक निर्माणका लागि ठेक्का लगाउने अन्तिम तयारी भएको छ ।
काभ्रे र सिन्धुलीको सिमाना बर्खे खोला देखि नेपालथोक सम्मको करिब साढे तीन किमि सडक निर्माणका लागि ठेक्का लगाउने तयारी भएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारश हमालले जानकारी दिनुभयो ।
अबको केही दिनमै ठेक्का सुचना निकाल्ने तयारीमा कार्यालय जुटेको उहाँको भनाई छ । २ बर्षमा काम सम्पन्न गर्ने गरि ठेक्का आव्हान गर्ने गरि काम भइरहेको कार्यालय प्रमुख हमालले जानकारी दिनुभयो ।
पुनर्निर्माण हुने बिपी राजमार्ग डबल लेनको बन्ने कार्यालयले जनाएको छ ।भ्याट र अन्य कर बाहेक करिब ६५ करोड लागतमा सडक पुनर्निर्माण गर्ने गरि ठेक्काको तयारी भएको कार्यालयले जनाएको छ ।
गत असोजको बाढीले सिन्धुलीको सुनकोसी गाउपालिकाको नेपालथोक देखि काभ्रेको भकुण्डे नजिक सम्म करिब १२ किलोमीटर सडक पूर्णरुपमा बगाएको थियो ।
सडक बगाएपछि हाल अस्थायी रुपमा रोशीको बगरबाट ट्रयाक सडक बनाइ सवारी सन्चालन हुँदै आएको छ । रोशीको बगरबाट अस्थायी रुपमा सञ्चालन भएको सडकलाइ समेत हाइट उठाएर बर्खामा समेत चल्ने गरी काम भैरहेको कार्यालय प्रमुख हमालले जानकारी दिनुभयो ।