वीरगन्ज गोल्डकपको उपाधि पुलिस क्लबलाई

लोकप्रिय

वीरगञ्ज । वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता २०८१ को उपाधि यस वर्ष पनि गत वर्षकै विजेता नेपाल पुलिस क्लबले चुमेको छ ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा सम्पन्न फुटबलको फाइनल खेलमा नेपाल पुलिस क्लबले ट्राई बेकरमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँलाई ० का विरुद्ध ३ गोलले हराउँदै उपाधि चुमेको हो ।

निर्धारित ९० मिनेटको प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राई बेकरमा पुगेको थियो ।

आजको खेलको उत्कृष्ट खेलाडीको उपाधि मच्छिन्द्र क्लबका जर्सी नम्बर ८८ का खेलाडी समिर राज थोकर घोषित भएका छन् ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको रुपमा पुलिस क्लबका जर्सी नम्बर ७ का क्याप्टेन रामचन्द्र बादी घोषित भएका छन् । उनले एक थान इलेक्ट्रिक स्कूटी  सहित सर्वोत्कृष्ट खेलाडीको उपाधि समेत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलकिपर नेपाल पुलिस क्लबका अमित टमटा घोषित भएका छन् भने उत्कृष्ट प्रशिक्षकको उपाधि पनि पुलिस क्लबकै प्रशिक्षक चेतन घिमिरेले प्राप्त गरेका छन् । दुवै जनालाई नगद २०/२० हजार रुपैयाँ प्रदान गरिएको छ ।

गत फागुन १७ गतेबाट वीरगञ्जमा शुरु भएको मधेश प्रदेशकै सर्वाधिक धनराशिको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत प्रथम हुने नेपाल पुलिस क्लबको फुटबल टिमले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, पदक प्राप्त गर्‍यो भने उपविजेता मच्छिन्द्र युवा क्लब काठमाडौँले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित शिल्ड प्राप्त गर्‍यो ।

ताजा समाचार

Related Articles