हेटौँडा, फागुन २६ गते ।
मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोईन र अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १० स्थित आनन्द टोलमा कोठा भाडामा लिई बस्ने वर्ष २२ की बिबिका लामा, वर्ष १७ को नाबालक र वर्ष १५ की नाबालिकालाई लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार निजहरुको शरीर तथा कोठामा खानतलासी गर्ने क्रममा उनीहरु बस्ने कोठाभित्र लुकाई राखिएको अवस्थामा दुई ग्राम ६४० मिलि ग्राम लागूऔषध खैरो हेरोईन फेला परेको छ ।
उक्त लागूऔषधसहित निजहरु तिनै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट १० दिनको म्याद अनुमती लिई अनुसन्धान कार्य भईरहेको छ ।
यस्तै प्रहरीले मकवानपुर मनहरी गाउँपालिका वडा नं.८ का वर्ष ३२ का राज कुमार तामाङलाई लागूऔषध अफिमसहित पक्राउ गरेको छ ।
मनहरी गाउँपालिका वडा नं. ८ स्थित भित्री सडक खण्डमा देवकोटबाट मेनरोडतर्फ आउँदै गरेको ग ६ प ४५८४ न. को मोटरसाइकललाई शंका लागी रोकी मोटरसाईकल चालक तामाङलाई खानतलासी गर्ने क्रममा मोटरसाईकलको लेगाडमा प्लास्टिकभित्र लुकाई छिपाई ल्याईएको अवस्थामा अफिम दुई किलो ५३० ग्राम फेला परेको प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार उक्त लागुऔषध तथा मोटरसाईकलसहित बरामद गरी निज राज कुमार तामाङलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट आठ दिनको म्याद अनुमती लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।
यसैगरी प्रहरीले लागूऔषध खैरो हेरोईनसहित हेटौँडा १० भीष्ममार्ग स्थित सडकबाट रोजल ढुङ्गानालाई नियन्त्रणमा लिएको छ । बा.प्र. ३–०२–०२६ प ६२७२ नं. को मोटरसाईकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक हेटौँडा १४ बस्ने वर्ष १९ को ढुङ्गानालाई खानतलासी गर्दा निजको साथबाट दुई वटा पुरिया बनाई लुकाई ल्याईएको अवस्थामा २७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको हो । निज ढुङ्गानालाई नियन्त्रणमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट आठ दिनको म्याद अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।