काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शुक्रबार आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झासहितको वैठकमा परीक्षा समितिले नतिजाको विश्लेषण गर्दै नतिजा प्रकाशन गरेको हो । त्यस अवसरमा परीक्षा समितिका संयोजक केशव ज्ञवालीले नतिजा सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।
ज्ञवालीका अनुसार ३.६ देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या २ हजार ७३० जना रहेको छ । यस्तै ३.२ देखि ३.६ सम्म जिपिए प्राप्त गर्ने ६ हजार ४५५ जना, २.८ देखि ३.२ जिपिए प्राप्त गर्ने ३ हजार ९७ जना, २.० देखि २.४ जिपिए प्राप्त गर्ने २८ जना विद्यार्थी छन् । यस्तै ० देखि १.६ सम्म जिपिए ल्याउने विद्यार्थी ५ हजार १७४ जना छन् ।
विषयगत रुपमा हेर्दा गणित विषयमा सबैभन्दा धेरै ३ हजार ९५६ जना विद्यार्थीले नट ग्रेडेड छन् । ३६ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थीहरु नट ग्रेडेडमा पर्छन् । दोस्रोमा सामाजिक तथा मानव मूल्य शिक्षामा १ हजार ९८२ जना, विज्ञान तथा प्रविधिमा १ हजार ७९६ जना, स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयमा १ हजार २१२ जना, नेपाली विषयमा १ हजार ४४४ जना, अंग्रेजीमा १ हजार ११७ जना र नेपाल भाषामा ६६७ जना विद्यार्थीले नट ग्रेडेड छन् ।
नतिजामा कसैलाई ग्रेस मार्क दिइएको छैन । विषयगत नट ग्रेडेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने समितिले निर्णय गरेको छ ।
प्राप्त नतिजाका विषयमा जानकारी लिएपछि प्रवक्ता मानन्धरले, परीक्षाफलले विद्यालयहरुको वास्तविक अवस्था दर्शाएको उल्लेख गर्नुभयो । यथार्थ अवस्थामा आधारित नतिजाले विषयगत रुपमा सिकाइका कमजोरी देखाएकोले सुधार गर्न आधार तयार भएको उहाँको भनाइ थियो ।
आयोगका सदस्य झाले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षलाई थप जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो । महानगरपालिकाको शिक्षा विभागले पनि अझ काम गर्नु पर्ने नतिजाले देखाएको बताउँदै उहाँले पठन संस्कार विकास भएर समग्र नतिजामा सकारात्मक प्रभाव राख्ने अपेक्षा राख्नुभयो ।
आफूले प्राप्त गरेको अङ्क चित्त नबुझेर पुनर्योग गर्न चाहेमा विद्यार्थीले बैशाख ४ गतेसम्ममा विद्यालयमा आवेदन दिन सक्नेछन् । विद्यालयहरुले बैशाख ५ गतेभित्र शिक्षा विभागमा पेश गर्नुपर्नेछ ।