नयाँ वर्षले समृद्ध देश निर्माणमा अघि बढ्न मार्गदर्शन गर्ने विश्वास

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १ गते ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ वर्ष २०८२ ले समृद्ध देश निर्माणमा अघि बढ्न सबैलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष २०८२ को अवसरमा सोमबार शुभकामना सन्देश जारी उहाँले यस्तो बताउनुभएको हो ।
नयाँ वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले देशलाई अस्थिरता र अन्तहीन द्वन्द्वको दिशामा धकेल्ने प्रवृत्ति र क्रियाकलापका विरुद्ध एकजुट हुन नयाँ वर्षले सबैलाई ऊर्जा प्रदान गर्ने बताउनुभएको छ ।
साथै समयबाट सबैले पाठ सिक्दै, उद्यमशीलताको विकास गरेर परनिर्भरतालाई न्यूनीकरण गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ “नयाँ वर्ष भित्तेपात्रो फेरिने विषयमा मात्र सीमित नरही आम नेपालीको जीवनस्तर सुदृढ हुने गरी नेपालीको ओठमा मुस्कान लिएर आउनेछ भन्ने अभिलाषा लिएको छु।“
“यो वर्षले उत्साह र कर्मशीलता बोकेर हामी सबैलाई सभ्य र अनुशासित बनाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा दिने अपेक्षा राखेको छु“ उहाँले सन्देशमा भन्नु भएको छ ।
विश्व परिवेशमा आएको उतारचढावले आत्मनिर्भर बन्न, स्वदेशी उत्पादनको प्रयोगमा जोड दिएर आयातलाई कम गर्दै निर्यातमुखी अर्थतन्त्रको दिशामा अघि बढ्न मौका र चुनौती थपेको देवकोटाले उल्लेख गर्नु भएको छ ।
सकारात्मक सोच राखेर मात्र नहुने र यसको लागि सकारात्मक कार्य गर्नुपर्ने उहाँको भनाइ छ। “क्रिया अर्थात् सकारात्मक कार्यमा परिवर्तन नहुने सोच विष सरह हुन्छ“ उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ ।
वि.सं. २०८१ अब इतिहासको रूपमा रहेको सन्दर्भमा विगतका कमीकमजोरीलाई अन्तिम कमीकमजोरी ठानेर आ–आफ्नो क्षेत्रबाट समृद्ध देश निर्माणमा अघि बढ्न सबैलाई वि.सं. २०८२ ले मार्गदर्शन गर्नेछ उहाँको विश्वास छ ।

ताजा समाचार

Related Articles