हेटौँडा, वैशाख १ गते ।
बागमती प्रदेश सरकार पछिल्लो समयमा बेरुजू फर्स्यौटलाई प्राथमिकता दिइनेभएको छ ।
बागमती प्रदेश सरकारका सचिवहरुको बैठकले प्रदेश सरकारअन्तर्गतको मन्त्रालय/निकाय तथा मातहतका कार्यालयमा सिर्जना भएको बेरुजूको लगत खडा गरी बेरुजू फर्स्यौटसम्बन्धी कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो ।
प्रदेश सरकारको मन्त्रालय/निकाय तथा मातहतका कार्यालयहरुमा पछिल्ला वर्षहरुमा बेरुजु रकम बढ्दै गएको छ ।
प्रदेशका सचिवहरुको बैठकले नेपाल सरकार, नियामक निकाय तथा अदालतबाट काम कारबाहीका सम्बन्धमा लेखी आएको पत्रहरुको जवाफ समयमा नै पठाउने र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गराउने निर्णय भएको मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।
यस्तै बागमती प्रदेश सरकारको आगामी आर्थिक २०८२/०८३ को नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने विषयहरुका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विषयगत मन्त्रालय/निकायमा पठाइएको लग फार्ममा आधारित तोकिएको ढाँचामा उल्लिखित समयभित्र पठाउने निर्णय बैठकले गरेको छ ।
यस्तै बैठकले प्रदेश सरकारका मन्त्रालय/निकाय तथा मातहतका कार्यालयहरुमा एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको मुख्यमन्त्री कार्यालयका अधिकृत सातौँ रविनजंग कार्कीले जानकारी दिनुभयो ।
बैठकले नेपाल सरकार, सचिव बैठक तथा प्रमुख सचिवसहित प्रदेश सचिवहरूको बैठकका निर्णयहरू तदारुकताका साथ कार्यान्वयन गर्ने/गराउने तथा निर्णय कार्यान्वयनको प्रगति विवरण नियमित रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णयसमेत गरेको छ ।