काठमाडौँ, वैशाख १ गते ।
नेकपा एमालेले पूर्व राजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रिक प्रणाली विरुद्धका प्रयास नगर्न सुझाब दिएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहमा अझैपनि गणतान्त्रिक प्रणालीलाई बदल्न सकिन्छ कि भन्ने आशा रहेको भन्दै उक्त आशा व्यर्थको हुने भन्दै यस्तो केही प्रयास नगर्न आग्रह गरेको हो ।
आज बसेको एमाले सचिवालय वैठकपछि पत्रकारसँग बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले तीन कुनेको आन्दोलनलाई जनअसन्तुष्टि भन्न नमिल्ने बताउनु भयो ।
”हिजो पूर्व राजा ज्ञनेन्द्रले जनताको असन्तुष्टिलाई नसुन्ने कुनै पनि तन्त्र हुँदैन भन्नुभएको छ । उहाँ आफूले शासन चलाएको बेलाको के थियो? मान्छेले बिर्सिसकेका छैनन् । उहाँको नेतृत्वको तन्त्रले जनताका सारा अधिकार खोसेको, पटक–पटकको सम्झौता उल्लंघन गरेकाले जनता गणतन्त्रमा पुगेका हुन् । यो गणतान्त्रिक प्रणालीलाई बदल्न सकिन्छ कि भन्ने आशा उहाँमा अझै देखिन्छ। तर त्यो व्यर्थको कुरा हो । यस्तो केही प्रयास नगर्दा राम्रो हुन्छ’, ज्ञवालीले भन्नुभयो ।
१५ गतेको घटनामा राजा ज्ञानेन्द्र जवाफदेही हुनैपर्ने एमालेको ठहर छ । ज्ञानेन्द्रले फागुन ७ गतेको सन्देशमा नै ‘आफूलाई साथ दिन’ आह्वान गरेको र वितण्डा मच्याउन तथाकथित जनअन्दोलनको कमाण्डरसमेत आफैले तोकेको ज्ञवालीले दावी थियो ।