हेटौँडा । पर्सा राष्ट्रिय निकुञ्जको आयोजना र सुनाखरी मध्यवर्ति उपभोक्ता समितिको समन्वयमा पर्सा जिल्लाको ठोरी गाउँपालिकाकाृ सुवर्णपुरमा ३० औँ वन्यजन्तु सप्ताह, २०८२ को अवसरमा मानव र वनजन्तु द्वन्द्व न्यूनीकरणका बारेमा छलफल भएको छ ।
“बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔ मानवसंगको द्वन्द्व र हानीनोक्सानी“ भन्ने नाराका साथ आयोजित सो कार्यक्रममा वक्ताहरुले मानव र वनजन्तु द्वन्द्व न्यूनीकरणका मानव र वनजन्तु द्वन्द्वको सहअस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
मानव र वन्यजन्तुबिचको द्वन्द्व कम गर्न वन्यजन्तुको आनीबानी जान्नुपर्ने भन्दै वक्ताहरुले निकुञ्जबाट मध्यवर्तिका नागरिकले लाभ पाउने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले हात्तीसँगको द्वन्द्व संवेदनशील विषय भएको चर्चा गर्दै पछिल्लो समयमा बाघ र जङ्गली हात्तीबाट हुने क्षति बढेको बताउनुभयो । उहाँले पछिल्लो समय वन्यजन्तुको संरक्षणको विषय छायाँमा परेको बताउँदै मानवीय क्षति शुन्यमा झार्ने प्रयास भईरहेको सुनाउनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका सीताराम अर्यालले वन्यजन्तुको संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै निकुञ्जलाई सुविधा सम्पन्न बनाउनु आवश्यकभएको औँल्याउनुभयो । कुसुमबाटिका मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनले नागरिकमा जागरण बढेको वन्यजन्तु बढेको भन्दै पछिल्लो समय वन्यजन्तुको उपस्थितिले मानव र वन्यजन्तुबित द्वन्द्व बढेको बताउनुभयो । उहाँले पर्सा वन्यजन्तुमा पर्यापर्यटनको गति कम भएकोले वृद्धि गर्नुपर्ने सुझाउनुभयो ।
सुनाखरी मध्यवर्ति उपभोक्ता समितिका भीमबहादुर पाख्रिनको अध्यक्षतामाभएको कार्यक्रममा सञ्चारकर्मीहरु राममणि दाहाल, उपेन्द्र ठाकुर, महेश्वर अधिकारीलगायतकाले मध्यवर्ति क्षेत्रका स्थानीय तहले अपनत्व लिने वातावरणको निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।