खासकुरा संवाददाता
हेटौँडा, वैशाख ७ गते ।
चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिना बाँकी हुँदा बागमती प्रदेश सरकारको खर्च ३३ प्रतिशतभन्दा पनि कम रहेको छ ।
प्रदेश सरकारको चालु आवको चैत महिना महिनासम्मको बजेट खर्च निराशाजनक देखिएको हो ।
चालु आवको नौ महिना पुरा हुँदा ३२.५१ प्रतिशत अर्थात् २० अर्ब ९८ करोड ६६ लाख १४ हजार रुपियाँ खर्चभएको छ ।
नौ महिनामा भएको खर्चको आधारमा प्रदेश सरकारमा आर्थिक वर्षको अन्तिम तीन महिनामा खर्च गर्ने प्रवृत्तिले चालु आवमा पनि निरन्तरता पाएको देखिन्छ ।
चालु आवका लागि विनियोजित कुल ६४ अर्ब ५४ करोड चार लाख ४१ हजार रुपियाँ बजेटमध्ये प्रदेश सरकारका मन्त्रालय, कार्यालय र आयोगले गत साउनदेखि फागुन मसान्तसम्मको कूल खर्च २५.६२ प्रतिशत अर्थात् १६ अर्ब ५३ करोड ४२ लाख ९२ हजार रुपियाँ मात्र खर्च गरेका थिए ।
मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले चालु आवका कार्यक्रम कार्यान्वयन गर्न बनाउनुपर्ने कार्यविधि निर्माणमा नै ढिलाई भएकोले खर्च कम देखिएको जानकारी दिनुभयो ।
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा सार्वजनिक चालु आवको चैत मसान्तसम्मको वित्तीय प्रगति विवरण अनुसार विनियोजित बजेटमा पुँजीगतको तुलनामा चालुतर्फको शीर्षकको बजेट बढी प्रतिशतले खर्च भएको तथ्याङ्क छ ।
नौ महिनाको अवधिमा पुँजीगततर्फ २८.२४ प्रतिशत र चालुतर्फ ४०.५१ प्रतिशत खर्चभएको छ ।
प्रदेश सरकारले चालु आवका लागि चालुतर्फ २५ अर्ब ९४ करोड ९१ लाख ८२ हजार रुपियाँ विनियोजन गरेकोमा नौ महिनाको अवधिमा १० अर्ब ४९ करोड सात लाख ५५ हजार र पुँजीगततर्फ ३७ अर्ब नौ करोड १२ लाख ४९ हजार रुपियाँ विनियोजनभएकोमा यो अवधिमा १० अर्ब ४९ करोड सात लाख ११ हजार रुपियाँ खर्च गरेको छ ।
बागमती प्रदेशमा सबैभन्दा बढी विकास बजेट विनियोजन भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको चालु आवको चैत मसान्तसम्ममा २९.८७ प्रतिशत अर्थात् छ अर्ब ८९ करोड ६० लाख ५२ हजार रुपियाँ मात्र बजेट खर्चभएको छ ।
यस मन्त्रालयका लागि चालुतर्फ ४३ करोड ९६ लाख ७८ हजार र पुँजीगततर्फ २२ अर्ब ६४ करोड ७४ लाख ८४ हजार रुपियाँ विनियोजन भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी पौेडेलले बहुवर्षीय योजनाहरुको मापदण्ड निर्माण ढिलाई भएकोले बोलपत्र आव्हानदेखि सम्झौता पनि सरकारको खर्च कम भएको बताउनुभयो ।