खासकुरा संवाददाता
मकवानपुर, वैशाख ७ गते । बागमती प्रदेश सरकारले सुरु गरेको समुदायमा आधारित एक वडा, एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ मा किसानलाई प्रविधि हस्तान्तरणदेखि बिउ, विषादी र प्राङ्गारिक मलसम्म सहयोग गरिएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ बाट सुरुभएको यस कार्यक्रम अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ मा तरकारी खेतीका लागि अनुदान सहयोग गरिएको कृषि विकास कार्यालय, चितवनका कार्यालय प्रमुख झलकनाथ कंडेलले जानकारी दिनुभयो ।
इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ मा समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम (तरकारी खेती) सञ्चालन गर्न कार्यालय, गाउँपालिका र गतिशिल साना किसान कृषि सहकारी संस्था लिमिटेड इन्द्रसरोवरबीच त्रिपक्षिय सम्झौतापछि ५४ लाख ३१ हजार ९८० रुपियाँ परियोजना कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो ।
उत्पादन सामाग्री तथा प्रविधि सहयोग अन्तर्गत बिउ बेर्ना खरिद एवं व्यवस्थापन, विषादी, सुक्ष्म खाद्य तत्व, प्राङ्गारिक मल, कृषकहरुको क्षमता विकास तथा प्रविधि प्रसारअन्तर्गत तालिम र भ्रमण, कृषि यान्त्रिकीकरण प्रवर्धन सहयोग गरिएको छ कार्यालय प्रमुख कंडेलले भन्नुभयो, परियोजना अनुसार न्यूनतम एक सय हेक्टर (खुला जमिन र संरक्षित संरचनाभित्र) क्षेत्रफलमा व्यावसायिक तरकारी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।
उहाँले अगाडि भन्नुभयो, कृषि यान्त्रिकीकरण सहयोग अन्तर्गत २२ थान मिनी टिलर, ३० वटा थान डिजिटल तराजु, विद्युतीय स्प्रेयर ५० थान, खन्ने उपकरण दुई थान, कृषि पूर्वाधार निर्माण सहयोग अन्तर्गत टनेल हाउस १५ थान तथा सिँचाई व्यवस्थापन अन्तर्गत सिंचाई ड्रम तीन थान र प्लाष्टिक पोखरी दुई वटा निर्माण गर्न सहयोग उपलब्ध गराउनुका साथै परियोजना अभिमुखिकरण गरिएको छ ।
कार्यालयका कृषि अर्थ विज्ञ अधिकृत आठौँले निर्मल पौडेलका त्रिपक्षीय साझेदारीमा कार्यान्वयन गरिने एक वडा, एक कृषि उत्पादन कार्यक्रममा प्रदेश सरकारको ६० प्रतिशत, स्थानीय तहको २० प्रतिशत र लाभग्राहीको २० प्रतिशत साझेदारी रहने व्यवस्था रहेको छ ।
इन्द्रसरोवर गाउँपालिकामा आयोजित कार्यक्रममा पालिका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमाकुमारी लामालगायतले कृषकहरुलाई विभिन्न तरकारी बालीको बिउविजन, कृषियन्त्र उपकरण, सिँचाइ ट्याकीलगायतका सामग्रीहरु हस्तान्तण गर्नुभएको थियो ।