मोरङ- विराटनगर भन्सार कार्यालय भएर चालू आर्थिक वर्षको नौ महिनामा गत आर्थिक वर्ष ०८०/८१ भन्दा करिब १ सय ८ प्रतिशतले निर्यात व्यापार बढेको छ ।
गत आर्थिक वर्ष० ८०/८१ को ९ महिनामा विराटनगर भन्सार कार्यालय भएर करिब २३ अर्ब १५ करोड ६८ लाख ५१ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएकोमा चालू आर्थिक वर्ष ०८१/८२ को सोही अवधिमा निर्यात बढेर ४८ अर्ब १९ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
विगत ९ महिनामा असोज महिनादेखि निरन्तर निर्यात व्यापार बढेको र त्यसमा पनि भटमासको तेल र सूर्यमुखी तेलको निर्यातले आयात निर्यातको स्थिति सुध्रिदै गएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
विगत केही महिनादेखि निर्यातमूलक उद्योगको कच्चा पदार्थ आयात बढेको र आन्तरिक खपत हुने वस्तुको आयात भने नबढेको विराटनगर कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
विराटनगर भन्सार कार्यालय भएर गत वर्षभन्दा चालू आर्थिक वर्षको नौ महिनामा आयात भने १९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०८०/८१ मा एक खर्ब २६ अर्ब ४२ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको वस्तुहरु आयात भएकोमा चालू आर्थिक वर्ष ०८१/८२ को सोही अवधिमा एक खर्ब ५० अर्ब ५५ करोड ८२ लाख २४ हजार रुपैयाँ बराबरको विभिन्न वस्तुहरु आयात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्ष ०८१/८२ को विगत नौ महिनामा विराटनगर भन्सार कार्यालय भएर मूल्यका आधारमा प्रशोधित भटमासको तेल, सेन्थेटिक यार्न, जुटको कपडा, प्रशोधित सूर्यमुखी तेल, तयारी कपडा, जुटको बोरा, प्लाईउड लगायतका वस्तुहरु निर्यात भएको छ ।
सबैभन्दा बढी करिब २० अर्ब ५२ करोड १७ लाख १० हजार रुपैँया बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ । यसैगरी मूल्यका आधारमा भटमासको कच्चा तेल, एचआर सिट, पोलिथिन दाना, शुद्ध फलाम, एलपी ग्याँस, सूर्यमुखी कच्चा तेल लगायतका वस्तुहरु आयात भएको छ ।