पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो

लोकप्रिय

काभ्रेपलाञ्चोक । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको फूलबारीमा आज आयोजित नवक्षितिज साप्ताहिकको रजतजयन्तीका अवसरमा उहाँले लेखन, कला र साहित्य क्षेत्रमा लाग्नेले समाज, राष्ट्र र संसारलाई नै अझ बढी बुझ्ने भएकाले सोहीअनुसार विश्लेषण गरिनुपर्नेमा जोड दिनुभयो ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि मुलुकमा धेरै उपलब्धि भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले व्यवस्था संरक्षणमा लाग्न आग्रह गर्नुभयो । त्यससँगै नदीनाला, पहाड र चुरे दोहनले जलवायु परिवर्तनका असर देखिरहेकाले त्यसमा पत्रकारिताको माध्यमबाट सचेत गराउन उहाँले आग्रह गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले नवक्षितिज साप्ताहिकको स्मारिका विमोचन गर्नुका साथै साप्ताहिकका स्तम्भकार प्रल्हाद दाहालद्वारा लिखित ‘अनुभूतिको सँगालो’ र दीपा गुरुङद्वारा लिखित कथा सङ्ग्रह ‘कथा काठमाडौँको’ लोकार्पण गर्नुभयो ।

नवक्षितिज साप्ताहिकका प्रधान सम्पादक नवराज बजगाईले साप्ताहिक पत्रिकाले २५ वर्ष प्रवेश गर्नु गौरवको कुरा भएको उल्लेख गर्दै यात्रासम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा पत्रिकामा आबद्ध सञ्चारकर्मी अर्विन्द्र गौतमलाई नगद रु २५ हजारसहित सम्मान गरिएको छ ।

ताजा समाचार

Related Articles